पर्वतका ग्रामीण क्षेत्रमा नेपाल टेलिकमको सेवा अपुग, नागरिकलाई सास्ती

पर्वत । नेपाल टेलिकमले उपभोक्तालाई गुणस्तरीय, सर्वसुलभ र आधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउने प्रयास गरे पनि पर्वत जिल्लामा अझै पर्याप्त हुन सकेको छैन । टेलिकमले आफ्नो क्षमता विस्तार नगर्दा बिहादी गाउँपालिकाका विभिन्न स्थानमा मोबाइल फोन सम्पर्क नहुने समस्या छ ।

बिहादी सँगै दक्षिणका धेरै स्थानमा लामो समयदेखि यो समस्याबाट नागरिकहरु हैरानी खेप्न बाध्य छन् । बिहादी गाउँपालिकाको अधिकाँश वडामा टेलिफोन सुविधा नहुँदा स्थानीयलाई समस्या भएको छ । गाउँमा नेटवर्कले काम नगर्ने भएपछि यहाँका बासिन्दा घन्टौं हिँडेर अग्लो ठाउँमा रहेको रुख चढेर फोन गर्ने गरेको स्थानीय नवराज शर्माले बताए । ‘गाउँमा टेलिफोनको टावर नहुँदा फोनले काम गर्दैन । टेलिफोन गर्न डाँडा र अग्लो रुखमा चड्नुपर्छ ’, शर्माले भने, ‘गाउँमा टेलिफोनको टावर नहुँदा निकै सास्ती व्यहोरेका छौँ ।,’ बिहादी गाउँपालिका–१ बाच्छा हुँदै बराचौर, रानीपानी, बिहादी, शालिग्राम र उरामपोखरा लगायतका वडामा टेलिफोन सुविधा नहुँदा ती गाउँका स्थानीय निकै मर्कामा छन् ।

टेलिकमले हालसम्म मोबाइल टावर नबनाउँदा यहाँबाट फोन गर्नुपरेपछि सर्वसाधारणले चर्को शुल्कमा अन्य सिमकार्ड प्रयोग गरेर कुरा गर्नुपरेको छ । शहर तथा विदेशबाट आउने पाउनाहरु पनि टेलिफोन नभएका कारण धेरै दिन गाउँमा बस्न नमानेको स्थानीय रत्नवहादुर कुवँरले गुनासो गरे । ‘दुरसञ्चारको टावर छिमेकी जिल्ला गुल्मी पूर्तीघाटमा छ । बिद्युत नहुँदा टावरले काम गर्देन, स्थानीय पदमवहादुर आलेले भने,‘ टेलिफोन तथा इन्टरनेट सेवा नहुँदा व्यक्तिगत र कार्यालय प्रयोजनमा समेत बाधा पुगेको छ ।’ टावर निर्माणका लागि राजनीतिक दलका नेतादेखि सम्बन्धित निकायमा अनुरोध गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो छ ।

कार्यक्रमको शिलशिलामा बिहादी गाउँपालिका पुगेका नेपाली काँग्रेसका नेता एवम् संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले प्रविधि र विज्ञानको युगमा गाउँमा अझै पनि टेलिफोनको टावर नहुनु लाजमर्दो विषय भएको बताए । उनले तत्काल टेलिफोनको टावर विस्तार गर्न नेपाल टेलिकम पर्वत शाखालाई निर्देशन दिए । नेपाल टेलिकम पर्वत शाखाका प्रमुख नवराज रेग्मीले आफुहरुलाई आधिकारिक रुपमा समस्या भएको गुनासो नआएको टावर विस्तारमा ढिलाई भएको बताए । उनले अवको एक हप्ता भित्र बिहादी गाउँपालिकामा टावर विस्तार गरिने प्रतिवद्धता समेत व्यक्त गरे ।

Back to top button