पर्वतको कुश्मा र फलेवास नगरपालिकामा विषयगत समिति बनाउने कसरत

पर्वत । कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा विषयगत समिति गठन गर्न बसेको बैठक निष्कर्षविहिन भएको छ । कुश्मा नगरपालिकाले कार्यपालिकाको बैठकबाट विभिन्न विषयगत समिति गठन गर्ने कार्यतालिका अनुसार विहान ११ बजेबाट बैठक बसेपनि सहमती जुटेन । नेकपा एमालेका प्रतिनिधीहरुले कार्यपालिकाको वहुमतले तोकेको संयोजक र सदस्य हुनुपर्ने अडान राखे भने काँग्रेस बाट निर्वाचित जनप्रतिनिधीहरुले भने नगरप्रमुखले तोकेको संयोजक रहने र सदस्य कार्यपालिकाले तोक्ने अडान राखे । स्थानीय सरकार सञ्चालन ऐनमा विषयगत समितिको संयोजक प्रमुखले तोक्ने र सदस्यहरु कार्यपालिका बाट तोक्ने उल्लेख छ । तर एमालेका प्रतिनिधीहरुले भने आफुहरुले कार्यपालिकामा वहुमत रहेकाले आफुहरुको प्रस्ताव लाई पारित गर्नुपर्ने दम्भ देखाएको एक जनप्रतिनिधीले जानकारी दिएका छन् ।

न्यायिक समिति उपप्रमुखको संयोजत्वमा गठन भएपनि बाँकी ६ वटा समितिमा एमालेबाट ३ जना र काँग्रेसबाट ३ जना संयोजक तोकेर अन्य सदस्य पनि भागबण्डामा टुंगाउन नगरप्रमुख रामचन्द्र जोशीले प्रस्ताव राख्नुभएको बुझिएको छ । तर, एमालेका जनप्रतिनिधीहरुले भने महत्वपूर्ण समितिको संयोजक दिनुपर्ने माग राखेका थिए । नेकपा एमालेले पूर्वाधार विकास समिति, सामाजिक विकास समिति र वन वातावरण समितिको नेतृत्व मागेको थियो । महत्वपूर्ण समिति एमालेले राखेर अन्य समिति काँग्रेसले पाउने सहमतीमा कुरा नमिलेपछि बैठकले निष्कर्ष निकाल्न नसकेको ति प्रतिनिधीले बताएका छन् ।। बैठक पुन २९ गतेका लागि आव्हान गरिएको छ । कुश्मा नगरपालिकाको कार्यपालिकामा नेकपा एमालेका १४ जना सदस्य रहेका छन् भने नेपाली काँग्रेसका १० जना रहेका छन् । नगरपालिकामा पाँच वटा विषयगत समिति रहने भएपनि मेयर रामचन्द्र जोशीले विधायन समिति समेत थप गर्ने प्रस्ताव गरेपछि ६ वटा समिति बनार्ईएको बताईएको छ ।

कुश्मामा जस्तै फलेवासमा पनि नेकपा एमालेका प्रतिनिधीहरुले कार्यपालिका बाट निर्णय गरेर अधिकाँश समिति एमालेले पाउनुपर्ने माग उठाएका छन् । अघिल्लो कार्याकालमा मेयरलाई बढि अधिकार दिइएको थियो । अघिल्लो कार्यापालिकाले बनाएका नियमावलीलाई खारेज गर्नुपर्ने नेकपा एमालेका सदस्यहरुले कुरा उठाएका छन् । विषयगत समिति गठन गर्नुपूर्व मेयर लाई बलियो बनाएको कार्यविधि र नियमावली संसोधन गरेर मात्र विषयगत समिति गठनको प्रक्रिया अगाडी बढाउन एमालेका सदस्यहरुले माग गरेको बुझिएको छ । अघिल्लो कार्यपालिकाले मेयरले विषयगत समितिको संयोजक तोक्ने निर्णय गरेको थियो । विषयगत समिति गठन सम्म बैठक प्रवेश गरिनसकेको फलेवास नगरपालिका ४ का अध्यक्ष अच्यूत तिवारीले जानकारी दिनुभयो ।

नगरप्रमुख गंगाधर तिवारीले सहमतीको अधिकतम प्रयास गरिरहनुभएको तिवारीले बताउनुभयो । स्थानीय सरकार सञ्चालन ऐन र स्थानीय कार्यापालिका कार्यविधिमा पनि मेयरले कार्यापालिकाको संयोजक तोक्ने र सदस्य कार्यपालिकाबाट तोक्ने उल्लेख छ । एमालेका प्रतिनिधीहरु संयोजक र सदस्य कार्यापालिकाले तोक्न पाउनुपर्ने अडानमा रहेका छन् ।

Back to top button