म्यादी प्रहरीलाई निःशुल्क तालिम

कास्की – पालिका चुनाव-२०७९ मा म्यादी प्रहरी भइ काम गरेका युवालाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मार्फत निःशुल्क तालिम प्रदान गरिएको छ । युवालाई स्वरोजगार बनाउने उद्देश्यका साथ तालिम प्रदान गरिएको गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक प्रमोदभक्त आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सीपमूलक तालिम र रोजगारी र स्वरोजगारी वा उत्पादनका क्षेत्रमा जोड़ने कार्यमा सहजीकरण गर्ने उद्देश्यले माग गरिएबमोजिम तालिम गरेका हौँ ।’ उहाँका अनुसार शुक्रवार (सीटीईभीटी) गण्डकी प्रदेश कार्यालय पोखराले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा तत्काल बजारको मागअनुसार विभिन्न किसिमका छोटो अवधिको तालिमको सुरुआत गरेको हो ।

म्यादी प्रहरीको लागि सञ्चालन गरिएको तालिममा अहिलेलाई जुनियर विल्डिङ इलेक्ट्रीसियन, प्लम्बर र किचन सहयोगी (कुक) तालिम सञ्चालन गरिएको छ भने बाँकी तालिम आउँदाे दिनमा क्रमशः सञ्चालन गरिँदै जाने आचार्यले बताउनुभयो । तालिम आवश्यकताका आधारमा १४० घण्टा (२७ कार्यदिन) को पाठ्यक्रम तयार गरी सञ्चालन गरिनेछ ।

कार्यक्रममा तालिमको आवश्यकता पहिचानको लागि सीटीईभीटी, गण्डकी प्रदेश कार्यालयबाट पालिकाको चुनाव सम्पन्नपश्चात् कास्की जिल्लाबाट बिदाइ भइ जान लागेका १ हजार ४ सयय म्यादी प्रहरीलाई प्रश्नावली भर्ने व्यवस्था मिलाइएको थियो ।

करिब ८ सय ७५ ले प्रश्नावली भरी सीटीईभीटी, गण्डकी प्रदेश कार्यालयमा पठाइएको प्रश्नावलीबाट प्राप्त तथ्याङ्कका आधारमा आवश्यकता पहिचान गरी सीपमूलक तालिम सञ्चालन गरिएको निर्देशक आचार्यले बताउनुभयो ।

म्यादी प्रहरीलाई सीपमूलक तालिममार्फत उत्पादनशील क्षेत्रमा जोड़नका लागि नेपाल सरकारको आउँदाे आव २०७९/८० को बजेट वक्तव्यमा सम्बोधन भएकोमा आचार्यले सरकारप्रति आभारसमेत व्यक्त गर्नुभएको थियो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले म्यादी प्रहरी बनेर राष्ट्र सेवामा संलग्न युवालाई लक्षित गरी उद्यमशीलता र स्वरोजगार केन्द्रित कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख भएको जानकारी गराउँदै उहाँहरुको रुचिका विषयमा तालिम प्रदान गरी कृषि, वनजन्य र अन्य उद्यममा संलग्न हुने अवसर उपलब्ध गराइने तथा सञ्चित सुरक्षा बलको रूपमा उपयोग गर्न आवश्यक व्यवस्था मिलाइने नीति राज्यले लिएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले दक्ष जनशक्ति उत्पादन गर्न सीपमूलक तालिमको आवश्यकता छ भन्नुभयो । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेय, पोखरा उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष बलराम आचार्यलगायतले बजारको मागअनुरूपको दक्ष तथा सीपमूलक जनशक्ति उत्पादनमा सीटीईभीटीले खेलेको भूमिका महत्त्वपूर्ण रहेको धारणा राख्नुभयो ।

प्राविधिक शिक्षालय पोखराका प्रमुख हर्कलाल श्रेष्ठले बेरोजगार युवालाई आवश्यक सीप दिएर उत्पादनमूलक रोजगारी सिर्जना गरी मुलुकमा उपलब्ध युवा श्रम शक्तिको अधिकतम उपयोग गर्न प्राविधिक शिक्षालय लागि परेको बताउनुभयो । आर्थिक वर्ष २०७९/८० को बजेटमा योग्य जनशक्तिलाई रोजगारीका क्षेत्रमा आफ्नो सम्भावनाको उच्चतम प्रयोग गर्नसक्ने बनाउन सङ्घ, प्रदेश र पालिकाको सहकार्यमा सीपमूलक व्यावसायिक तालिम कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

सबै बेरोजगार जनशक्तिको योग्यता, क्षमता र सीपसमेत उल्लेख हुने गरी तथ्याङ्क अद्यावधिक गरिने, कृषि तथा वन, पर्यटन, पूर्वाधार, सूचना प्रविधि, औद्योगिक र घरेलु तथा साना उद्योग क्षेत्रलाई रोजगारी सिर्जनाको स्तम्भको रूपमा विकास गरिने योजना बजेटमा ल्याइएको छ । साभार उज्यालो अनलाईन

Back to top button