बालेन र सुनिता पुगे सिसडोल : सुने स्थानीयको गुनासा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले आज शुक्रबार काठमाडौं उपत्यकाको फोहोर मिल्काउने स्थान नुवाकोटको सिसडोलको अवलोकन गरी स्थानीयको समस्या र गुनासा सुनेका छन् ।

स्थानीयको भनाइ सुनेपछि मेयर साहले तत्कालको लागि केमिकल राखेर गन्ध हटाउने उपाय अपनाउने आश्वासन दिनुभएको छ । केमिकल हालिसकेपछि गन्ध हराउन एक हप्ता लाग्ने भन्दै उहाँले केमिकल ल्याउने ट्रक भने नरोक्न आग्रह गर्नुभयो ।

फोहोरबाट मल बनाउने अर्को एउटा सिस्टम राख्ने र ड्रिल गरेर ग्यास निकाल्ने योजना सुनाउँदै यी काम गर्न तीन–चार महिना लाग्नसक्ने उल्लेख गर्नुभयो । सड्ने र नसड्ने फोहोर छुट्टयाएर विसर्जन गर्ने व्यवस्था मिलाउन जनचेतना जगाइने उहाँको भनाइ थियो ।

स्थानीय जनप्रतिनिधि र नागरिक अगुवाहरूले आफूहरूले स्वस्थ्य वातावरणमा बस्न पाउनुपर्ने माग गर्दा प्रहरी प्रशासन लगाएर दमन गरिएको गुनासो गरेका थिए ।

उपमेयर सुनिता डंगोलले स्थानीयको समस्याको सुनुवाई गरेर आफूहरू सिसडोलबाट फर्किएको जानकारी दिनुभयो ।

मेयर र उपमेयर बञ्चरेडाँडा पुगेर स्थानीयसँग छलफल गरेकै दिन यता काठमाडौंको टेकु संकलन केन्द्रबाट महानगरले फोहोर नउठाएको भन्दै स्थानीय बासिन्दाले विरोध गरेका छन् । उनीहरूले शुक्रबार बिहानैदेखि धर्ना दिँदा टेकुबाट फोहर बोक्ने गाडीको आवतजावतमा बाधा पुगेको छ । सिसडोल ल्यान्डफिल साइटमा स्थानीयले फोहर फाल्न नदिँदा महानगरपालिका भरी फोहर थुप्रिएको छ ।साभार ईमेज खबर

Back to top button