आइतवारदेखि दैनिक पाँच घण्टा सडक बन्द गरेर मुग्लिन–पोखरा सडक विस्तार गरिँदै

काठमाण्डाै – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा सडक खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत यो खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको हो ।

बन्दीपुर गाउँपालिका–५ मा रहेको याम्पाफाँट र व्यास नगरपालिका–१२ घाँसीकुवा खण्डमा आउँदो आइतवारदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ देखि बिहान ४ बजेसम्म गाडी चलाउन रोक लगाइएको मुग्लिङ–पोखरा सडक योजना, तनहुँका आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको पूर्वी खण्डतर्फ सडक चौडा बनाउने काम भइरहेको छ ।

पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्शनले पाएको छ । सडक विस्तारका लागि राजमार्ग आसपासका रुख काटिएका छन् । मुग्लिङ–पोखरा सडक विस्तार कार्य अन्तर्गत पश्चिम खण्डबाट पनि काम सुरु भइसकेको छ ।

पूर्वी खण्डको लागत  ६ अर्ब २१ करोड ३१ लाख र पश्चिम खण्डको लागत  सात अर्ब ४० करोड ४६ लाख रुपैयाँ रहेको छ । सडक चार लेनको बन्दा नयाँ पुल बनाउनुपर्ने छ । आँबुखैरेनीबाट पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण हुनेछन् ।साभार उज्यालो अनलाईन

Back to top button