शैक्षिक सुधारका लागि जलजला गाउँपालिकाका अध्यक्ष अनुगमनमा

पर्वत) ।पर्वतको जलजला गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयको समस्या बुझ्न र सुधारका लागि सुझाव संकलन गर्न पालिका अध्यक्ष राजुप्रसाद आचार्यले विद्यालय अनुगमन थाल्नुभएको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष आचार्य सहित जनप्रतिनिधिहरुको टोलीले पालिका भित्र रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि अनुगमन गरी सुझाव संकलन थाल्नुभएको हो । सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर वृद्धिका लागि पालिकाले पहिलो प्राथमिकतामा राखेको छ ।

गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्ष लगायतको संयुक्त टोलीले गाउँपालिकाभित्रका बिभिन्न स्थानका विद्यालयहरुमा भौतिक रुपमा उपस्थित भएर त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी लिन थालेको हो ।
मंगलबार फर्सेमा रहेको शिव माध्यमिक विद्यालय र बुधवार बनांै माविमा अनुगमन गरिएको छ। गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष आचार्य, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर क्षेत्री, वडा नं. ८ का वडाअध्यक्ष हरिबिकास जि.सी. लगायतको टोलीले विद्यालयको अवलोकन गरेको हो।

विद्यालयको अनुगमन पश्चात गाउँपालिकाका अध्यक्ष आचार्यले शैक्षिक गुणस्तर कायम नभएसम्म बेरोजगारी समस्याको समाधान नहुने भएकाले हरेक विद्यालयले गुणस्तर कायम गर्न सक्षम हुनुपर्ने बताउनुभयो।

विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्नका लागि आफूहरुले कुनै कसर बाँकी नराख्ने उनको भनाई छ । यस्तै प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले गाउँपालिकाले विगतदेखि नै विद्यालयलाई प्राथमिकतामा राखेर विद्यालयलाई पूर्वाधारबाट भरिपूर्ण बनाउने प्रयास गर्दै आइरहेको बताउनुभयो ।

विद्यालयमा स्वागत गर्दै विधालय व्यवस्थापन समितिका अध्यक्ष विप्लवजंग हमालले सामुदायिक विद्यालयको सुधारको लागि जलजला गाउँपालिकाले गर्दै आएका कामहरुप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सोही अपेक्षा रहेको बताउनुभयो ।

Back to top button