बलात्कारको मुद्दामा हदम्याद हटाउन माग गर्दै कांग्रेस सांसदद्वारा संसदमा सङ्कल्प प्रस्ताव दर्ता

काठमाण्डौ – बलात्कारको मुद्दामा हदम्याद हटाउन माग गर्दै नेपाली कांग्रेसका चार जना महिला सांसदले प्रतिनिधि सभामा सङ्कल्प प्रस्ताव दर्ता गराएका छन् । हदम्यादको कानुनी प्रबन्धका कारण बलात्कार पीडितले न्याय नपाएको र अपराधीहरूको मनोबल बढिरहेको भन्दै सांसदहरू डिला संग्रौला पन्त, सुजाता परियार, प्रमिला राई र रंगमती शाहीले प्रतिनिधि सभामा सङ्कल्प प्रस्ताव दर्ता गराउनुभएको हो ।

प्रस्तावमा पीडितले उजुरी गर्न नसक्नुको भरपर्दो र मनासिब कारण देखाइ उजुर गर्न आएमा दर्ता गरी अनुसन्धान गर्न सक्ने गरी कानुन संशोधन गर्नुपर्ने उल्लेख छ । कानुन समयअनुसार परिवर्तनशील भएकाले समयअनुसार परिवर्तन गर्न सकिएन भने त्यस्तो कानुन न्यायोचित हुन नसक्ने प्रस्तावमा उल्लेख छ ।

यस्तै आम नागरिकको चासो र चिन्तालाई सम्बोधन गर्न, सरकारलाई आवश्यक दिशानिर्देश गर्न र समयमै कानुन संशाेधन गरी बलात्कारजस्ता जघन्य अपराधका पीडितलाई न्यायको मार्ग प्रशस्त गर्न सङ्कल्प प्रस्तुत गरेको प्रस्तावमा जनाइएको छ ।

२०७५ साल भदौदेखि मुलुकी अपराध संहितामा बलात्कारसम्बन्धी मुद्दामा उजुरी गर्ने हदम्याद एक वर्ष तोकिएको छ । तर समाजको आवश्यकता, बदलिँदो परिवेशलाई हेरेर हदम्यादको विषय परिवर्तन गर्न र जबरजस्ती करणीमा हदम्याद नराखी कानुन संशोधन गर्न प्रस्ताव दर्ता गराइएको सांसदहरूले बताएका छन् । जबरजस्ती करणी पीडितलाई सरकारले निःशुल्क स्वास्थ्य, क्षतिपूर्ति तथा मानसिक उपचार एवम् परामर्शको व्यवस्था गर्न, जबरजस्ती करणीसम्बन्धी कानुनलाई अरू कडा बनाइ जबरजस्ती करणी पीडितको सुरक्षा तथा पुनर्स्थापनाको जिम्मा राज्यले लिन र जबरजस्ती करणीसम्बन्धी भइरहेको कानुनको पूर्ण कार्यान्वयन गराइ आफूमाथि भएको यौन हिंसाविरुद्ध बोल्न महिलाहरूलाई साहस थप्न यस्तो कदम चालिएको सांसदहरूले जनाएका छन् । साभार उज्यालो अनलाईन

Back to top button