बालेन्द्र साहको घोषणा : नगर सभाको बैठक लाइभ, फोहर व्यवस्थापन नभएसम्म फूलमाला र खादा नलगाउने

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले पदबहाली गर्नुभएको छ । राष्ट्रिय सभा गृहमा शपथ ग्रहण गरे पनि साहले महानगरपालिकाको कार्यालयमा गएर पदबहाली गर्नुभएको हो ।

उहाँले आजको पहिलो नगर सभाको बैठक लाइभ पनि गर्नुहुने भएको छ । आफ्नो चुनावी प्रतिबद्धताअनुसार नगर सभाको बैठक लाइभ गरिने साहले जानकारी दिनुभयो । जनप्रतिनिधिले गर्ने निर्णय पारदर्शी हुनुपर्ने र नागरिकले थाहा पाउनुपर्ने भएकाले बैठक लाइभ गरिने उहाँकाे भनाइ छ ।

यस्तै मेयर साहले काठमाण्डौको फोहर व्यवस्थापन नगरेसम्म खुसी नमनाउने र फूलमाला तथा खादा नलगाउने पनि बताउनुभएको छ । आफ्नो मुख्य एजेन्डा नै काठमाण्डौको फोहर व्यवस्थापन भएकाले नुवाकोटका नागरिकलाई असर नपर्ने गरी फोहर व्यवस्थापनको काम गर्ने साहको भनाइ छ ।

‘हामीले खादा, माला, अन्तर्वार्ता र सेलिब्रेसनहरू फोहरको व्यवस्थापन नभएसम्म नगर्ने भनेका छौँ । हामीले गरेको पापको भारी सिसडोलवासीले भोग्दै हुनुहुन्छ । उहाँहरू क्यान्सर पीडित हुनु भएको छ, छालाको रोग लागेको छ । यो शोक मनाउने बेला हो, फोहरको व्यवस्थापन नहुन्जेल र सिसडोलवासीले स्वच्छ वातारण र हावामा बस्ने र पानी पिउने वातावरण नहुन्जेल अरू काम हुँदैन’, साहले भन्नुभएको छ । साभार उज्यालो अनलाईन

Back to top button