तारा एयरको जहाज खोज्न गएको सेनाको टोली मुस्ताङको नर्सिङ गुम्बामा अवतरण

तारा एयरको वेपत्ता जहाज खोजीका लागि गएको नेपाली सेनाको हेलिकोप्टर मुस्ताङको नर्सिङ गुम्बा भन्ने स्थानमा अवतरण गरेको छ ।त्यहाँबाट नेपाली सेनाका १० जना र नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई जनाको टोली मोबाइलको लोकेसन पत्ता लागेको तर्फ गएको नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीले बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार पैदलयात्राबाट पनि सेना र प्रहरीको टोली पनि परिचालन गरिएको छ । काठमाडौंबाट हिमालयन रेस्क्युको टोली पनि पठाइएको छ ।महाप्रवन्धक ठाकुरका अनुसार क्याप्टेन प्रभाकर घिमिरेको फोन ट्र्याक गर्दा टिटी लेक आसपासमा लोकेसन पत्ता लागेकाले खोजी त्यतै केन्द्रित गरिएको छ ।

‘पाइलटको मोबाइलमा घण्टी गइरहेको छ, टिटी लेक वरपर खोजिरहेका छौं’

यसअघि स्थानीयले घाँसातिर ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर सूचना दिएपछि प्रहरी र स्थानीयको टोली त्यसतर्फ गएको थियो तर त्यहाँ जहाज फेला परेन ।

१९ जना यात्रु र ३ जना चालक दलका सदस्य गरी २२ जना सवार ९ एन एईटी कलसाइनको ट्वीनअटर जहाज आज बिहान पोखराबाट मुस्ताङका लागि उडेको थियो । जहाज सिनियर क्याप्टेन प्रभाकर घिमिरेले उडाएका हुन् ।

मौसम खराब हुँदा तारा एयरको जहाज खोज्न समस्या, मौसमविद भन्छन्-आज आकाश खुल्ने सम्भावना धेरै कम छ

बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको उक्त जहाज १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । उक्त जहाज जोमसोम विमानस्थलको टावरसँग १० बजेर ७ मिनेटमा म्याग्दीको घोडेपानीबाट सम्पर्कमा आएको थियो । त्यसपछि जहाज सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।साभार अनलाईन खबर

Back to top button