म्याग्दीका ४५ वडा र पालिकामा महिलाहरुको नेतृत्व शुन्य, सवैमा पुरुष हावी

म्याग्दीका छ वटा स्थानीय तह र ४५ वटा वडाको नेतृत्वमा महिलाको सहभागिता शून्य भएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा म्याग्दीमा एक पालिका प्रमुख सहित दुई वटा वडाको वडा अध्यक्षमा महिला चुनिनुभएको थियो ।

गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचन २०७९ मा जिल्लाका छ वटै स्थानीय तहको प्रमुख तथा अध्यक्ष र ४५ वटै वडाको वडा अध्यक्षमा पुरुष निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनको तुलनामा उम्मेदवारमा महिलाको संख्या बढेपनि विजयी हुन नसकेकाले स्थानीय तह र वडाको नेतृत्वमा महिलाको अवस्था कमजोर बनेको हो ।

अघिल्लो पटक धवलागिरि गाउँपालिकाको अध्यक्षमा एमालेबाट थमसरा पुन निर्वाचित हुँदा मालिका गाउँपालिका–५ देविस्थानको वडा अध्यक्षमा काँग्रेसबाट पिपला बुढा र धवलागिरि गाउँपालिका–५ मल्कबाङको वडा अध्यक्षमा काँग्रेसबाटै खर्ककुमारी छन्त्याल विजयी बन्नुभएको थियो । तर यस पटक पालिका प्रमुख÷अध्यक्ष र वडा अध्यक्षमा महिला प्रतिनिधित्व शुन्य भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

उम्मेदवार दर्ता हुँदा साविकको तुलनामा महिला सहभागिता बढेपनि प्रतिस्पर्धामा उनीहरु पराजित हुन पुगेका छन् । यस पटक म्याग्दीको स्थानीय तह निर्वाचनमा तीन महिला पालिका प्रमुखको प्रतिस्पर्धामा चुनाबी मैदानमा उत्रिएका थिए । रघुगंगा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट मीना विश्वकर्मा, धवलागिरि गाउँपालिकाको अध्यक्षमा एमालेकी थमसरा पुन र बेनी नगरपालिकाको प्रमुखमा राप्रपाकी मीनाकुमारी शर्मा उम्मेदवार बन्नुभएको थियो ।

त्यसैगरि मंगला गाउँपालिकाको वडा नम्बर ४ मा नेकपा एमालेबाट लक्ष्मी बुढाथोकी र माओवादी केन्द्रबाट मनमाया चोचाङ्गे र रघुगंगा गाउँपालिका–२ भगवतीको वडा अध्यक्षमा रञ्जना श्रेष्ठ स्वतन्त्रबाट वडा अध्यक्षको उम्मेदवार बन्नुभएको थियो । पालिका र वडाको नेतृत्वमा उम्मेदवार बन्नुभएका छ जना महिलाहरु नै पराजित हुनुभएको छ ।

हरेक स्थानीय तहमा एउटै पार्टीबाट प्रमुख र उपप्रमुखमा उम्मेदवार बनाउँदा एक पदमा महिला अनिवार्य भएपनि धवलागिरि गाउँपालिकामा गठबन्धनको कारण अध्यक्ष र उपाध्यक्ष दुबै पुरुष निर्वाचित हुनुभएको छ ।

Back to top button