बलात्कारको दोषीलाई कारबाही हुन्छ : गृह मन्त्रालय

सरकारले आठ वर्षअघि सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा काठमाडौंको एक कन्सल्टेन्सी सञ्चालकले किशोरीलाई बलात्कार गरेको घटनामा सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै घटना छानबिन गरी सत्यतथ्य पत्ता लगाएर दोषीलाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेको जनाएको हो ।

विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशित महिला हिंसा सम्बन्धी सामग्री सम्बन्धमा शुक्रबार प्रतिनिधिसभा बैठकमा सासंदहरूले उठाएको विषयमा सभामुखले गर्नुभएको रूलिङ, नागरिक समाजबाट कारबाहीका लागि प्रदर्शन र दबावको सम्बन्धमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा भनिएको छ ।

‘यस्ता विषयमा शीघ्र छानविन गरी सत्य तथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाही गर्न नेपाल सरकार सधैं प्रतिबद्ध छ’, विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुँवरको संयोजकत्वमा छानविन समिति गठन भै समितिले काम समेत सुरु गरिसकेको छ ।समितिलाई अनुसन्धान कार्यमा सहयोग गर्न पनि मन्त्रालयले सबैमा आग्रह गरेको छ ।साभार ईमेज खबर

Back to top button