जलजलामा संस्थापक र नवनिर्वाचित जनप्रतिनिधिबीच अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

पर्वत । पर्वतको जलजला गाउँपालिकामा संस्थापक जनप्रतिनिधि र नवनिर्वाचित जनप्रतिनिधिबीच अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै निवर्तमान पालिका अध्यक्ष रामकृष्ण मल्लले संघीयता लागु भएपछि स्थापना भएका स्थानीय तहहरुलाई मुल धारमा हिडाउन धेरै मेहनत र कसरत गर्नुपरेको बताउनुभयो ।

उहाँले जलजला गाउँपालिकाले पालिकाको विकास र समृद्धिका लागि धेरै योजनाहरु अघि बढाएको बताउँदै जनमुखि कामलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ । उहाँले सडक, शिक्षा, खानेपानी, सिंचाई लगायतका पूर्वाधार तथा स्वास्थ्य र मानविय विकासमा जलजलाले धेरै काम गरेको बताउनुभयो ।

सो अवसरमा निवर्तमान उपाध्यक्ष सिमा गर्बुजा पुनले नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै पहिलो कार्यकालमा पालिकको समृद्धिका लागि धेरै कामहरु अघि बढाइएको बताउनुभयो । कार्यक्रममा जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले नवनिर्वाचित जनप्रतिधिलाई जलजला गाउँपालिकाले संचालन गरिरहेका गतिविधिहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

सो अवसरमा नवनिर्वाचित अध्यक्ष राजु आचार्य, उपाध्यक्ष दिपक आचार्य लगायतले गाउँपालिकाका नागरिकहरुलाई स्थानीय सरकारको प्रत्याभूति दिनेगरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा निवर्तमान जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो ।

Back to top button