सुदूरपश्चिमका ३४ वटा मतदान केन्द्रमा पुनः मतदान गराइने

कैलाली । सुदूरपश्चिम प्रदेशका १८ मतदान स्थलका ३४ केन्द्रमा फेरि निर्वाचन हुने भएको छ ।पुनः निर्वाचन हुनेमा बाजुराको बुढीगंगा नगरपालिकाका १० वटै वडाका २० केन्द्र रहेका छन् । यो पालिकाका वडा नम्बर २, ३, ५ र ९ मा एमालेले तथा ४ र ७ मा कांग्रेसले एकलौटी मतदान गरेको भन्दै विवाद भएकाले पुनः मतदान गराउन लागिएको हो । तर, शान्ति पूर्ण रुपमा मतदान सम्पन्न भएका १, ६, ७ र १० मा पनि फेरि चुनाव गर्ने निर्णय भएपछि स्थानीयहरु आक्रोशित छन् । सो स्थानको विवाद मिलाउने निर्वाचन आयोगले केन्द्रबाटै आयुक्तको नेतृत्वमा टोली पठाउने भएको छ ।

बाजुराकै बुढीनन्दाको वडा नम्बर ८ को पिस क्रियटर एकेडेमीमा पनि फेरि चुनाव हुने भएको छ । बाजुरामा चुनावको नयाँ मिति भने तोकिएको छैन ।

उता बझाङको जयपृथ्वी नगरपालिका, सुनिपिपल चौर माध्यमिक विद्यालय केन्द्रमा आइतबार चुनाव हुँदैछ । यस्तै, बझाङकै सुर्मा गाउँपालिकाको कृष्ण प्रा.वि.को एक केन्द्र र आधावगर मा.वि.का दुई केन्द्रमा सोमबार मतदान हुने भएको छ ।

बझाङकै केदारस्यूँ गाउँपालिकाको जगन्नाथ मा.वि.का दुई केन्द्रमा पनि सोमबार मतदान हुने भएको छ । यस्तै, कञ्चनपुरको पुनर्बास नगरपालिको विजय माध्यमिक विद्यालय, भीम विकास बस्तीको एक केन्द्र, अछामको साँफेबगर नगरपालिका राष्ट्रिय मा.वि., बावला २ र अछामकै पञ्चदेवल विनायक नगरपालिका नवज्योति माविका दुई केन्द्रको मिति पनि तोकिएको छैन ।साभार ईमेज खबर

Back to top button