पर्वतमा निर्वाचनमा भाग लिन गाउँ फर्कनेहरुको संख्या बढ्दै, गाउँघर दशैँ झैँ भरियो

पर्वत । स्थानीय तहको निर्वाचन शुक्रवार हुँदैछ । आफ्नो गाउँपालिका वा नगरपालिका र वडाका जनप्रतिनिधिलाई भोट हाल्नका लागि गाउँ फर्कनेहरुको संख्या ह्वात्तै बढ्न थालेको छ । पर्वत सदरमुकाम कुश्माबजारवाट भोट दिन जानेहरुको संख्या केहि दिन यता उल्लेख्य मात्रामा बृद्धि भएको हो ।

दशै तिहार जस्ता महान चाडपर्वमा जस्तै कुश्माबजारमा विभिन्न पेशा ब्यावसाय गरी बस्ने जिल्लाका विभिन्न गाउँका मतदाताहरु गाउँ फर्किएपछि सदरमुकाम सुनसान बन्न थालेको छ । जिल्ला सदरमुकाममा मात्र नभई वारीवेनी, पातीचौर, हुवासबजार लगायतका बजार क्षेत्रमा विभिन्न पेशा व्यावसाय गर्ने तथा बालबच्चा पढाउनका लागि डेरा गरी बस्नेहरु पनि गाउँ फर्किएको पाईएको छ ।

आफ्नो स्थानीय तहलाई समृद्ध बनाउन योग्य जनप्रतिनिधि निर्वाचित गराउनुपर्ने भएकाले भोट हाल्न गाउँ हिडेको विहादीकी सोनी गुरुङले बताउनुभयो । जिल्ला भित्र मात्र हैन विभिन्न पेशा व्यावसायको शिलशिलामा पोखरा, काठमाण्डौ, चितवन लगायतका शहरमा बस्नेहरु पनि गाउँमा आएका छन् । उनिहरुलाई विभिन्न उम्मेदवार तथा दलका भातृ संगठनले सवारीसाधन नै रिजर्भ गरेर आ–आफ्नो ठाउँमा ल्यान सहजीकरण गरेको समेत पाईएको छ । मतदानको दिन नजिकिदै जाँदा जिल्लामा चुनावी गतिविधि समेत ह्वात्तै बढेको पाईएको छ ।

Back to top button