श्रमिकको समस्या सुन्न र समाधानका लागि दूतावासले साउदीको दमाममा कार्यक्रम गर्दै

काठमाण्डौ – श्रमिकको समस्या सुन्न र समाधान गर्नका लागि साउदीमा रहेको नेपाली दूतावासले दमाम सहरमा श्रमिक सचेतना तथा गुनासो, समस्या सङ्कलन कार्यक्रम गर्ने भएको छ ।

साउदी अरबको पूर्वी क्षेत्रका विभिन्न सहरहरूबाट श्रमिकको समस्या र गुनासो धेरै आउने गरेको भन्दै दूतावासले त्यस क्षेत्रमा रहेका श्रमिकको समस्या समाधानका लागि दमाममा २० मे अर्थात् आउँदो जेठ ६ गते गुनासो तथा समस्या सङ्कलनको कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।

दूतावासका अनुसार कम्पनीले इकामा नबनाइदिएको वा इकामाको म्याद सकिएपछि पनि नवीकरण नगरिदिएको वा हुरुव लगाइदिएको कारणले लामो समयदेखि नेपाल फर्किन नपाएको, कम्पनीले सम्झौता अनुसारको तलब र सेवा सुविधा नदिएको, काम गरेको समयको तलब पनि नपाएको समस्याहरू यो क्षेत्रबाट धेरै आइरहेको छ ।

यस्तै बिरामी पर्दा पनि उपचार नगरिदिने, छुट्टीमा घर जान नदिने, कम्पनीले अनावश्यक जरिवाना लगाउने, फर्जी कागजात बनाएर मुद्दा लगाइदिनेजस्ता समस्या पनि पछिल्लो समय साउदीमा बढेको छ ।

यस्ता समस्या बढ्न थालेपछि दूतावासले साउदीमा रहँदा श्रमिकले गर्न हुने र गर्न नहुने कुराहरूको बारेमा जानकारीका साथै साउदीको श्रम कानुन अनुसार पाउने हक अधिकारको बारेमा जानकारी दिन र दूतावासले प्रवाह गर्ने सेवाका बारेमा कार्यक्रम गर्न लागेको हो ।

दूतावासले यो कार्यक्रममा श्रमिक सचेतनाका साथै कम्पनीले इकामा नबनाइदिएको वा इकामा नवीकरण नगरिदिएको वा हुरुब लगाइएको कारण नेपाल फर्कन नपाएकाहरूलाई घर फर्कनका लागि एक्जिट भिसाको प्रक्रिया अघि बढाइदिने जनाएको छ ।

यस्तो समस्या भएका श्रमिकले आफ्नो राहदानीको सक्कल, राहदानीको फोटोकपी र इकामाको फोटोकपी साथमा ल्याउन पर्नेछ । अहिलेसम्म इकामा नै बनाएको छैन भने साउदी जाँदा त्यहाँको अध्यागमनले आफ्नो राहदानीको जुन पेजमा बोर्डर नम्बर लेखिदिएको छ त्यो पेजको फोटोकपी ल्याउन पनि दूतावासले अनुरोध गरेको छ ।

कम्पनीले करार सम्झौता अनुसारको तलब सुविधा नदिएको, काम गरेको तलब पनि नदिएको र ओभर टाइमको पैसा नदिने, बिदामा घर आउन नदिने र अलपत्र अवस्थामा राखेको छ भने पनि यस्ता समस्याको समाधानमा दूतावासले पहल गर्नेछ ।

कम्पनीले अनावश्यक जरिवाना लगाइदिएको जा फर्जी कागज बनाएर फसाएको छ भने पनि यही कार्यक्रममार्फत पनि दूतावासले समस्या समाधानका लागि पहल गर्ने जनाएको छ । यस्तो समस्या भएका श्रमिकले आफ्नो राहदानी र इकामाको फोटोकपी र आफ्नो सुपरभाइजरको वा कम्पनीको एचआर वा कफिलको सम्पर्क मोबाइल नम्बर लिएर कार्यक्रममा आउन भनेको छ ।

२० मे शुक्रबारका दिन अल असेम रेष्टहाउस फर फेस्टिभवल, अल फैसालिया, दमाममा दूतावासले कार्यक्रम गर्ने छ । समय भने बिहानको ७ बजेदेखि दिउँसोको ३ बजेसम्म तोकिएको छ  ।साभार उज्यालो अनलाईन

Back to top button