स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका दुई उम्मेदवारको मृत्यु

काठमाडौं । शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका दुई उम्मेदवारको मृत्यु भएको छ ।कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुखका लागि उम्मेदवारी दर्ता गरेकी शुभावती कुर्मीको निधन भएको छ ।

निवर्तमान उपप्रमुख समेत रहेकी उहाँलाई हृदयघात भएको थियो । कुर्मीको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।उम्मेदवारको निधन भएपछि महाराजगन्ज नगरपालिकाको आज निर्वाचनका सबै कार्यक्रम स्थगित भएको जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिनुभयो ।

यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका लागि एमाले उम्मेदवार लवरु चौधरीको पनि निधन भएको छ ।चुनाव प्रचारकै क्रममा बिरामी परेपछि उहाँलाई उपचारका लागि २ पटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो ।त्यहाँ पनि उपचार हुन नसेकेपछि थप उपचारको लागि काठमाडौंको शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

गएराति उनको मृत्यु भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताउनुभयो । उहाँले यसअघिको कार्यकाल तुलसीपुर १७ को वडा सदस्य भएर काम गर्नुभएको थियो ।आयोगले वैशाख ३० मै ती स्थानीय तहमा चुनाव गर्ने वा पछि गर्ने भन्नेबारे निर्णय गर्न बाँकी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।साभार ईमेज खबर

Back to top button