७ सय ५३ वटै मतगणनास्थलमा सीसी क्यामेरा अनिवार्य

काठमाण्डाै – निर्वाचन आयोगले पालिका चुनावमा लागि सात सय ७३ वटै गतगणनास्थलमा अनिवार्य सीसी क्यामेराको प्रबन्ध गर्न लगाएको छ ।

मतगणनालाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सीसी क्यामेराको प्रबन्ध गर्न आयाेगले निर्देशन दिएको हो । यस प्रयोजनका लागि आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै पालिकालाई परिपत्र पनि गरिसकेको छ । आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्मा पौडेलले कुनै–कुनै पालिकामा सीसी क्यामेरा राख्नैपर्ने/नपर्ने भनेर साेधिएकाे उल्लेख गर्दै आयोगको निर्णय कार्यान्वयन गर्न आनाकानी गरिए मान्य नहुने र राख्न नचाहनुको अर्थ त्यहाँ कुनै गडबडी गर्न लागिएको त होइन ? भन्ने प्रश्न उत्पन्न बताउनुभयो ।

गएकाे चुनावमा चितवनको भरतपुर महानगरपालिका र केही पालिकामा मतगणनामा विवाद हुँदा केही वडामा फेरि मतदानसमेत भएको थियो । चुनावका लागि १० हजार सात सय ५६ मतदानस्थल र २१ हजार नाै सय ५५ मतदान केन्द्र निर्धारण गरिएको छ ।

यसैगरी यस पटकको चुनावमा फोटोसहितको नामावलीलाई लाहा छाप लगाएर मात्रै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई पठाइएको छ । आयोगले रङ्गीन र श्यामवेत दुवै रङ्गमा प्रिन्ट गरी फोटोसहितको मतदाता नामावली दल सम्बन्धित पालिकागत आधारमा पठाएको आयोगका प्रवक्ता एवम् सहसचिव पौडेलले बताउनुभयो ।

मतदाताले हेर्न चाहेमा आयोगका वेबसाइटमा नामावलीको सूची मात्रै हेर्न सक्नेछन् । चुनावका लागि एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता रहेका छन् । यसैबीच आयोगले प्रदेश निर्वाचन अधिकारी र जिल्ला निर्वाचन अधिकारीसँग आज शुक्रवार भर्चुअल माध्यमबाट बैठक गरी निर्वाचन सामग्री र मतपत्रको ढुवानी र समग्र व्यवस्थापकीय तयारीबारे जानकारी लिएको छ ।

यसैबीच यही वैशाख ११ र १२ गते प्राप्त उम्मेदवारको मनोनयनपत्र दर्ता भएकाेमा आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र वैशाख १७ गते चुनाव चिह्न वितरण गर्ने कार्यसूची छ । साभार उज्यालो अनलाईन

Back to top button