रेडक्रसको केन्द्रीय कार्यालय तोडफोडमा पूर्व अध्यक्ष नै संलग्न

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय पूर्व अध्यक्षले नै तोडफोड गरेको आरोप लागेको छ । रेडक्रसको तदर्थ समितिको वैधानिकता सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ । मुद्दा विचाराधीन रहेकै बेला गएको मंगलबार अघिल्लो तदर्थ समितिका अध्यक्ष डा.नेत्रप्रसाद तिम्सिना र सदस्य बाबुराजा महर्जनले कार्यालय तोडफोड गरेको कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले प्रेश विज्ञप्ती निकालेर जानकारी दिएका छन् ।

ताहाचलस्थित केन्द्रीय कार्यालयमा हथौडा सहितका सामग्री लगेर कार्यालयको दुईओटा ढोका तोडफोड गरेपछि कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी वृत कालिमाटीले डा.तिम्सिना र बाबुराजा महर्जनलाई पक्रेर ‘मुद्धा टुंगो नालागेसम्म त्यस्ता गतिविधि नगर्ने’ सहमति गराएर छाडेको छ ।

तदर्थ समितिका अध्यक्ष डा.नेत्रप्रसाद तिम्सिना र प्राध्यापक सुदर्शनप्रसाद नेपाल मध्ये कसको समिति वैधानिक भन्नेबारेमा अदालतमा मुद्दा विचाराधीन छ । नेत्रप्रसाद नेतृत्वको तदर्थ समितिले काम गरिरहेको अवस्थामा सरकारले म्याद सकिएको भन्दै सरकारले प्राध्यापक सुदर्शनप्रसाद नेपाल नेतृत्वको तदर्थ समिति चयन गरेको थियो । २०७८ चैत १३ मा दोस्रो समितिको पनि म्याद सकिएको छ ।

साभार रातोपाटी

Back to top button