गोरखा भूकम्पको ७ वर्ष : सिन्धुपाल्चोकमा ८३ हजार ९ सय ७१ घर पुनर्निर्माण

सिन्धुपाल्चाेक – गोरखा भूकम्पको आज सात वर्ष पूरा भएको छ । २०७२ वैशाख १२ गतेका दिन दिउँसाे ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यस भूकम्पबाट सिन्धुपाल्चोकमा सबैभन्दा बढी क्षति पुगेको थियो । त्यस्तै काठमाण्डाै, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा भूकम्पले क्षति पुर्‍याएकाे थियो ।

बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अतिप्रभावित जिल्लाका रूपमा घोषणा गरेको थियो । भूकम्पले झन्डै नौ हजार जनाकाे निधन भएको थियो । भूकम्पले सिन्धुपाल्चोकमा मात्रै तीन हजार पाँच सय ७० जनाको ज्यान गएको थियो भने ९५ हजारभन्दा बढी भौतिक संरचना ध्वस्त भएका थिए । यहाँका पाँच सय ४७ विद्यालय ध्वस्त भएकामा ९८ प्रतिशत विद्यालय निर्माण सम्पन्न भएका छन् । यहाँका ७५ वटा स्वास्थ्य चौकीमा पूर्णरूपमा क्षति पुगेको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

भूकम्पबाट सिन्धुपाल्चोकमा ९१ हजार ९४ परिवार लाभग्राहीको सूचीमा परेका थिए । अहिलेसम्म तेस्रो किस्ता लिएर ८३ हजार नाै सय ७१ घर निर्माण भइसकेको र बाँकी निर्माणाधीन रहेका जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । यसअन्तर्गत २२ वटा एकीकृत बस्ती निर्माण सम्पन्न भएका छन् । साभार उज्यालो अनलाईन

Back to top button