आफ्ना उम्मेदवार जिताउन एक ढिक्का हुने गठबन्धनको निर्णय, ‘निर्णय विपरीतका उम्मेदवारी फिर्ता’

काठमाण्डाै – सत्तारुढ पाँच दलीय गठबन्धनले तालमेलमार्फत उम्मेदवारी दिएका व्यक्तिलाई जिताउन एक ढिक्का हुने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साेमवार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले गठबन्धनको निर्णयअनुसार उम्मेदवारी दिएका व्यक्तिलाई जिताउन एक ढिक्का हुने निर्णय गरेको कांग्रेसका नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

महानगर र उपमहानगरको भागबन्डा केन्द्रबाटै गरिएको, धेरै जिल्लामा स्थानीयस्तरबाट तालमेल भएको र सहमति जुट्न नसकेका ठाउँमा पनि सकभर सहमति जुटाउन आग्रह गरिएको कार्कीले जानकारी दिनुभयो । आन्तरिक असमझदारीलाई समाधान गर्दै चुनाव केन्द्रित हुन बैठकले नेता, कार्यकर्तालाई आग्रह गरेको छ । अहिले आवेशमा आएर गठबन्धन र दलको निर्णय विपरीत दर्ता भएका उम्मेदवारी फिर्ता हुने पनि कार्कीको भनाइ छ । साभार उज्यालो अनलाईन

Back to top button