पर्वतमा स्थानीय तहका उम्मेदवार टुंगाउन दलहरु अझै असफल

पर्वत । स्थानीय तहको निर्वाचनका लागि आज र भोलीमा उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन आयोगको निर्देशन छ । तर, पर्वतमा भने दलहरुले उम्मेदवार सार्वजनिक गरेका छैनन । सत्तारुढ दल भागबण्डाको विषयमा अन्तिम छलफल रहेको जनाएको छ भने एमालेले उम्मेदवारको सिफारिस प्रदेशमा पठाएकाले प्रदेशको निर्णय पर्खिएर बसेको छ । सत्ता गठबन्धनमा भागबण्डाको कुरा मिलेको खबर आएपनि आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन । नेपाली काँग्रेसले पालिकाहरुमा मतदान मार्फत उम्मेदवार तय गरेर पठाउन थालेको छ ।

कुश्मा नगरपालिकामा नगरप्रमुख तथा उपप्रमुखका लागि दरखास्त आव्हान भएकोमा १४ जनाले प्रमुख पदमा दरखास्त पेश गरेका छन् । उपप्रमुखमा भने तीन जनाको नाम अनुमोदन भएको छ । उपप्रमुखमा ४ जनाले उम्मेदवारी दिएकोमा एकजनाले फिर्ता लिएपछि तीन जनाको नाम अनुमोदन भएको हो । उपप्रमुखमा सरस्वती शर्मा जिज्ञाशु, शान्ती शर्मा कुमाल, रामशरण पोख्रेल, र रामप्रसाद शर्मा आरसीको उम्मेदवारी थियो । रामशरण पोखरेलले उम्मेदवारी फिर्ता गर्नुभएको हो । नगरप्रमुखका लागि यूवराज जोशी, रामचन्द्र जोशी, सीता काफ्ले लामिछाने, किशोर भण्डारी, यदुनाथ शर्मा बास्तोला, गंगाधर पौडेल, बसन्तबहादुर सिके, राजकुमार क्षेत्री, शिव शर्मा अधिकारी, मुना शर्मा लामिछाने, लेखनाथ शर्मा, नरेन्द्रवहादुर खत्री, मायाकुमारी अधिकारी, दामोदर आचार्यको दरखास्त परेको छ । विहान ७ बजेबाट उम्मेदवारी दर्ताको समय तोकिएकोमा १ बजे बन्द गरिएको थियो ।

सहमतीका लागि प्रयास हुने र नमिलेमा प्रक्रिया मार्फत टुंगाउने तयारीमा रहेको नगर समितिले जनाएको छ । मेयरका उम्मेदवार छान्न विहान ८ बजेसम्ममा मतदानको प्रक्रिया थाल्ने भनिए पनी अझै छलफल चलिरहेको छ ।

उता जलजला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष चयनका लागि मतदान गरिएको छ । मतदानमा यामवहादुर मल्ल रामकृष्णले ३७, राजुप्रसाद आचार्यले ३४ र विप्लवजंग हमालले २४ मत प्राप्त गरि आगामी अध्यक्षको रुपमा सिफारिस हुनुभएको छ । अध्यक्षमा ७ जनाको दाबी थियो । बढि मतका आधारमा तीन जना छानिएका हुन् । उपाध्यक्षमा अनिता मल्लले ४०, निर्मला केसीले ३९ र लक्ष्मीकुमारी हमालले ३६ मत पाएर उपाध्यक्षमा सिफारिस हुनुभएको छ । उपाध्यक्षमा ४ जनाको उम्मेदवारी परेको थियो ।

महाशिला गाउँपालिकामा भने काँग्रेसले आकांक्षी सबैको नाम प्रदेश सभामा सिफारिस गरेको छ । अध्यक्ष बन्न आकांक्षा राख्ने ७ जनाको नाम सिफारिस गरिएको छ । विहादीले सर्वसहमतीमा तीन जना अध्यक्ष पदका उम्मेदवारको नाम सिफारिस गरिसकेको छ । फलेवास नगरपालिकाबाट हिजो नै उम्मेदवार छनौट गरि पठाईएको थियो ।

अन्य पालिकाहरुमा उम्मेदवार छनौट गर्ने कसरत भैरहेको बुझिएको छ । नेकपा एमालेले पैंयु गाउँपालिकामा सर्वसम्मत रुपमा उम्मेदवारी टुंगो लगाएको भएपनि अन्य ६ पालिकामा अझै निर्णय भैनसकेको जनाएको छ । पालिका प्रमुख र उपप्रमुख प्रदेशमा सिफारीस भएपनि निर्णय नआईसकेको र वडाहरुको पनि जिल्लामा सिफारीस आएपनि निर्णय भैनसकेको जिल्ला सचिब गोविन्द पहाडीले जानकारी दिनुभयो ।

Back to top button