पर्वतको कुश्मा नगरपालिकाका १४ वटै वडामा राष्ट्रिय परिचयपत्र अध्यावधिक शुरु

पर्वत । राष्ट्रिय परिचयपत्र अध्यावधिकलाई सहज र प्रभावकारी बनाउन कुश्मा नगरपालिकाको वडावडामै शिविर सञ्चालन गरिएको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागसंगको सहकार्यमा कुश्मा नगरपालिकाको आयोजनामा राष्ट्रिय परिचयपत्र अध्यावधिक गर्न थालिएको हो ।

नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत कुमानसिँह गुरुङका अनुसार १४ वटै वडामा पुगेर कर्मचारीहरुले बैशाख ४ गतेबाट परिचयपत्रको फर्म भर्न शुरु गरेका हुन् । जिल्ला प्रसासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउनेहरुले ठूलो भीड लाग्दै आएको छ । प्रसासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन पालो समेत कुर्नुपर्ने बाध्यता रहेको छ ।

गाउँ गाउँबाट आएर लाईनमा बस्नुपर्ने, पालो पाउन समस्या हुने र गाउँबाट आउँदाजाँदा भाडामा रकम सकिने कारण गाउँमै परिचयपत्र बनाउने शिविर सञ्चालन गरिएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । प्रसासन कार्यालयमा आएर झण्झट व्यहोर्नु भन्दा वडामै परिचयपत्र अध्यावधिक गर्न थालेकोमा नगरवासीहरुलाई सहज भएको जोशीले बताउनुभयो । उहाँले नागरिकको सहजताका लागि वडा कार्यालयमा राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको बताउनुभयो ।

पछिल्लो समय राहदानी जारी गर्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । जस्ले गर्दा सेवाग्राहीको चाप बढेको छ । नेपाली नागरिकले राहदानी लिन, बैंक तथा वित्तीय क्षेत्रमा कारोबार गर्न, व्यक्तिगत घटना दर्ता गर्न, सम्पत्ति खरिद विक्रि गर्न, मतदान गर्न, राहत तथा अनुदान लिन, सामाजिक सुरक्षा भत्ता लिन लगायतका कार्यमा परिचय पत्रको आवश्यकता पर्ने गरी काम अघि बढेको विभागले जनाएको छ ।

Back to top button