शहरी विकास मन्त्रालयले भ्यूटावर र सभा हल निर्माणमा बजेट नथप्ने

काठमाण्डाै – शहरी विकास मन्त्रालयले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभा हल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने भएको छ । तर यसअघि मन्त्रालयले बनाइरहेका ३२ वटा सभा हल भने प्राथमिकताका साथ निर्माण सम्पन्न हुने मन्त्रालयले जनाएको छ ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अबको नीति तथा कार्यक्रममा भ्यूटावर र सभाहल निर्माणको कामलाई निरन्तरता नदिने बताउनुभयो । सञ्चालनको मापदण्ड नभएको र असीमित दायित्व सिर्जना गर्ने भएकाले भ्यूटावर र सभाहल निर्माणका लागि आगामी वर्षको नीति कार्यक्रममा बजेट व्यवस्था नहुने उहाँको भनाइ छ ।

मन्त्रालयले एकीकृत बस्ती विकास कार्यक्रमलाई पनि निरन्तरता नदिने भएको छ । एकीकृत बस्ती विकासका कार्यक्रमको प्रभावकारिताप्रति आफू गम्भीर रहेको बताउँदै मन्त्री झाँक्रीले यसलाई विस्थापन गरेर नयाँ बस्ती विकास कार्यक्रम ल्याइने बताउनुभयो । उहाँले भन्नुभयो,‘आगामी बजेटमा एकीकृत बस्ती विकास कार्यक्रमबाट पछि हट्छौं । पहाडी र हिमाली क्षेत्रमा यो कार्यक्रम प्रभावकारी देखिएन । तराई र काठमाण्डौ उपत्यकाका क्षेत्रमा जग्गाको अभाव छ ।’

मन्त्री झाँक्रीले आगामी वर्षको नीति तथा कार्यक्रममा संयुक्त आवास कार्यक्रमका रुपमा रुपान्तरण गर्न लागिएको जानकारी दिनुभयो । साभार उज्यालो अनलाईन

Back to top button