पहाडी केही ठाउँमा आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाण्डाै – पहाडी केही ठाउँमा आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा भएको छ ।

मुख्यगरी गण्डकी, मधेश, वाग्मती र प्रदेश एकका केही ठाउँमा मेघगर्जन र चट्याङगसहित वर्षा भएको महाशाखाले जनाएको छ । आज पनि पहाडी क्षेत्रमा मौसम आँशिक बदली हुने र केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् बिनु महर्जनले जानकारी दिनुभयो । अबको तीन दिनसम्म मौसम यस्तै रहने अनुमान छ ।

आज प्रदेश एक, मधेश प्रदेश, वाग्मती र  गण्डकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना छ । अहिले नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । प्रि-मनसुनमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना हुने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । देशका तराई तथा चुरे क्षेत्रमा भने तापक्रम बढ्दो क्रममा रहेकाले जोगिन महाशाखाले अनुरोध गरेको छ ।

यसैबीच पानी परेका ठाउँका किसानलाई केही राहत भएको छ । खेतबारीमा चिस्यान भएपछि किसानले बर्खे बाली लगाउने तयारी थालेका छन् । मध्य पहाडमा अहिले मकै तथा लहरे तरकारीबाली लगाउन सकिने नार्कको राष्ट्रिय वागवानी अनुसन्धान केन्द्रका मुख्य वैज्ञानिक डा. सुरेन्द्रलाल श्रेष्ठले बताउनुभयो । सिँचाईको सुविधा नभएका क्षेत्रमा किसान आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ ।

Back to top button