पर्वतमा स्थानीय तहको निर्वाचनमा उठ्ने उम्मेदवार अझै सार्वजनिक हुन सकेन

स्थानीय तह निर्वाचनको लागि उम्मेदारी दर्ता गर्ने दिन आउँन अब पाँच दिन मात्रै बाँकी रहेको छ । वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । तर पर्वतमा अहिलेसम्म दलहरुले उम्मेदवारी टुंग्याउँन सकेका छैन ।

एमालेले पैयुँ गाउँपालिका बाहेक अन्य पालिका र वडाको उम्मेदवार चयन गरेको छैन । पालिकामा सहमती नभएपछि जिल्ला र प्रदेशमा नाम सिफारिस गरेर पठाईएको छ । सत्ता गठवन्धनमा झनै सकस देखिएको छ । सत्ता गठगवन्धनमा आवद्ध नेपाली काँग्रेस र माओवादी बीच बढि रस्साकस्सी परेको छ भने अन्य साना तीन दलले पनि आ–आफ्नो दावी प्रस्तुत गरेपछि छलफल लम्बिईरहेको नेपाली काँग्रेस जिल्ला सचिब गुप्तनिधि शर्माले बताउनुभयो ।

उहाँका अनुसार कुनैवेला पाँच दल, कुनै वेला दुई÷तीन÷ चार दल बीच छुट्टाछुट्टै र संयुक्त रुपमा औपचारिक, अनौपचारिक छलफलहरु भैरहेको भएपनि अझै टुंगोमा पुग्न नसकिएको बताउनुभयो । छलफल भने सकारात्मक दिशामै रहेको उहाँको भनाई रहेको छ । गठवन्धन गरेर जाने विषयमा पाँच वटै दल सकारात्मक रहेपनि सिट बाँडफाँडमा केहि उल्झन पैदा भएको काँग्रेस पर्वतका प्रवक्ता अच्युत तिवारीले जानकारी दिनुभयो ।

उहाँले काँग्रेस र माओवादी मिलेपछि अन्य दलहरुका साना माग पुरा गर्न समस्या नहुने भएकाले अझै छलफल गरेर वीन वीन वातावरणमा टुंगाउनुपर्ने बताउनुभयो । यसैबिच नेपाली काँग्रेसले वडाध्यक्षहरुको उम्मेदवार छान्न सकस भएपछि मतदान गर्न थालेको छ ।

अहिलेसम्म कुश्मा नगरपालिका २ र ४ मा हिजो मतदान नै गरेर उम्मेदवार छानेर जिल्ला कार्यसमितिमा सिफारिस गरिएको छ । बढि मत ल्याउने तीन जना उम्मेदवारको नामावली पठाउन जिल्ला कार्यसमितिले निर्देशन दिएकोमा वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यले मतदान गरेर प्रतिनिधी छनौट गरि पठाउन थालिएको हो ।

Back to top button