बागलुङमा संस्थागत विद्यालयले आगामी शैक्षिक शत्रमा ४० प्रतिशत शुल्क वृद्धि गर्ने

बागलुङमा संस्थागत विद्यालयले आगामी शैक्षिक शत्रबाट लागू हुने गरी ४० प्रतिशत शुल्क वृद्धिको माग गरेका छन् । सोमबार बागलुङ नगरपालिका शुल्क सिफारिस समितिको बैठकले हाल उठाउँदै आएको शुल्कबाट ४० प्रतिशत बढाउन नगरशिक्षा समितिलाई सिफारिस गरेको हो ।

नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलको उपस्थितिमा प्याब्सन र एनप्याब्सनको संयुक्त बैठकले शुल्क बढाउने निर्णय गरेको हो । उक्त बैठकमा उपस्थित भएका अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्य जीवन शर्माले भने असहमतिसहित नोट अफ डिसेन्ट लेखेका छन् । सुझाव समितिले निर्णय गरे पनि उक्त शुल्क लागू गर्नका लागि शिक्षा समितिले निर्णय गर्नुपर्छ ।

‘उहाँहरुले ७० प्रतिशत शुल्क बढाउने प्रस्ताव ल्याउनु भएको थियो, मैले नै यो अति भयो भनेर घटाउन लगाएको हुँ,’ पोखरेलले भने, ‘अझै पनि महँगो भएको छ, शिक्षा समितिले उचित निर्णय गर्ला ।’ बैठकमा नेपाल विद्यार्थी संघका सचिव श्रीकृष्ण पौडेल, अनेरास्ववियूका सदस्य कुमार सापकोटा र क्रान्तिकारीका जिल्ला अध्यक्ष मिलन काउचासमेत सहभागी थिए ।

बैठकमा नेविसंघका सचिव श्रीकृष्ण पौडेलले हस्ताक्षर गरेका छैनन् । उनले शुल्क बढाउँदा शिक्षक र विद्यार्थीले कस्तो सेवा सुविधा पाउँछन् भनेर सोधेको बताए । ‘शुल्क बढाउने, विद्यार्थीले नयाँ पाठ्यक्रम र शिक्षण सिकाइ नपाउने हो भने शुल्क बढाउनुको अर्थ छैन,’ पौडेलले भने, ‘त्यही विद्यालयमा पढाएका शिक्षकसमेत पीडित छन्, उनीहरुको अधिकार बारे कसले बोलिदिने ?’ यो सिफारिस समितिको बैठक मात्र भएको र तत्काल निर्णय कार्यान्वयन हुने अवस्था नभएकोले बैठक छाडेर निस्केको उनले बताए ।

बैठकमा सहभागी एक विद्यार्थी नेताले नगरपालिकाबाटै सहभागी कतिपयको आफ्नै बोर्डिङ भएकोले शुल्क बढाउन मौन सहमति दिएको टिप्पणी गरे । प्याब्सनका पदाधिकारीले भने २०७२ देखि नै शुल्क नबढेकोले यो प्रस्ताव गरिएको बताए । बैठकमा बागलुङ नगरपालिकाका सामाजिक विकास समितिका अध्यक्ष गणेश थापा र प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा समेत सहभागी थिए ।

Back to top button