भरतपुर महानगरको मेयर माओवादी केन्द्रलाई छाड्नुपर्ने अवस्था आयो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रलाई छाड्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।

मंगलबार चितवन कांग्रेस सभापति राजेश्वर खनाललाई बालुवाटार बोलाएर सभापति देउवाले सत्तागठबन्धनलाई निरन्तरता दिनुपरेकोले भरतपुरको मेयर कांग्रेसले लिन नसक्ने अवस्था आएको बताउनुभएको हो । उहाँले भरतपुर महानगरमा सत्तागठबन्धनले गर्ने निर्णयलाई सहयोग गर्न पनि खनाललाई आग्रह गर्नुभयो ।

२०७४ मा पनि भरतपुरको मेयर कांग्रेसले माओवादीलाई छाडेको थियो । कांग्रेसको समर्थनमा माओवादी नेता रेनु दाहाल भरतपुरको मेयर निर्वाचित हुनुभएको थियो ।बालुवाटारमा मंगलबार भएको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, बागमती कांग्रेस सभापति इन्दबहादुर बानियाँ र चितवन सभापति खनाल थिए ।

चितवन कांग्रेसले यसपालि भरतपुर महानगरमा पार्टीबाटै उम्मेदवार उठाउनुपर्ने बताउँदै आएको थियो। शीर्ष नेताहरूलाई भेटेर पनि चितवन कांग्रेसका नेताहरूले भरतपुर महानगर माओवादीलाई नछाड्न भनेका थिए ।साभार उज्यालो अनलाईन

Back to top button