अनुमति प्राप्त हतियार नबुझाउँदा निर्वाचनमा जोखिम

झापा। स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा झापा जिल्लामा अनुमति प्राप्त हतियार समयमा नबुझाउँदा जोखिम बढेको छ। जिल्लामा रहेका २ सय ८६ वटा मतदान स्थलमध्ये ५१ वटा अतिसंवेदनशील र १ सय ५३ वटा सम्वेदनशीलको सूचीमा रहेका छन् ।

भारतको पश्चिम बंगाल र बिहार राज्यसँग करिब १ सय ४५ किलोमिटर खुल्ला सीमाना रहेको झापा आफैंमा संवेदनशील जिल्ला हो । अझ, स्थानीय तहको निर्वाचन नजिकिएसँगै सुरक्षा जोखिम उच्च छ । त्यसमा पनि झापामा अनुमति प्राप्त हतियार नबुझाउँदा जोखिम बढेको हो । जिल्ला सुरक्षा समन्वय समिति झापाले जिल्लामा रहेका सबै मतदान स्थलहरुको अनुगमन र निरीक्षण समेत गरेको छ ।

अनुगमन र निरीक्षणपछि मतदानस्थलहरुको वर्गीकरण गर्दै निर्वाचनलाई भयरहित बनाउन जिल्लामा दर्ता रहेका हतियार बुझाउँन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय झापाले गत चैत ८ गते एक सूचना जारी गर्दै अनुमति प्राप्त हतियार बुझाउँन निर्देशन दिएपनि हतियार नबुझाउँदा जोखिम बढेको हो ।

झापामा कति अनुमति प्राप्त हतियार छन् एकिन तथ्यांक जिल्ला प्रशासन कार्यालय झापासँग छैन । एकिन तथ्यांक नहुँदा प्रहरीको सहयोगमा सम्बन्धीत इलाका मार्फत हतियार राख्ने मानिसको नाम ठेगाना संकलन गरिरहेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभएको छ ।

खुल्ला सीमानाका कारण झापामा साना हातहतियारको कारोबार हुने जोखिम बढिरहेका बेला अनुमति प्राप्त हतियार नै नबुझाउँदा जिल्लामा जोखिम बढ्ने निश्चित छ । तथापि शान्तिपूर्ण, निष्पक्ष र उत्साहजनक सहभागीतामा निर्वाचन सम्पन्न गर्न मतदाता शिक्षा र आचारसंहिताको कार्यान्वयन गराउन जिल्ला प्रशासन कार्यालयले पहल कदमी सुरु गरेको छ । यता, झापा जिल्लामा स्थानीयतहको निर्वाचनको ६० प्रतिशत काम पूरा भएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी कुमार नेपालले जानकारी दिनुभएकाे छ ।

झापामा राष्ट्रिय मान्यता प्राप्त ६ वटा दल सहित ३६ वटा दलले स्थानीय तहको निर्वाचन भाग लिन जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् । निर्वाचनको मिति नजिकिएसँगै जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयले निर्वाचन क्षेत्रको निरीक्षण र अनुगमन गरेपनि अनुमति प्राप्त हतियार बेलैमा व्यवस्थापन नगर्ने हो भने निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुनेमा आशंका उब्जिएको छ ।साभार ईमेज खबर

Back to top button