पर्वतमा सत्ता गठबन्धनमा उम्मेदवारको भागबण्डा लगाउन घनिभूत छलफल

पर्वत । भागबन्डा मिलाउन पर्वतमा पाँचदलीय गठबन्धनमा उच्च स्तरीय रुपमा वार्ता भैरहेको छ । गठबन्धनमा सहमती नभएको भन्दै समाचार प्रकाशन भएपनि काँग्रेस सभापति यूवराज जोशीले भोली सम्ममा सबै कुरा मिलेर सार्वजनिक हुने बताउनुभएको छ ।

गठबन्धनमा आवद्ध भएको माओबादी केन्द्रले धेरै भाग खोज्न थालेपछि काँग्रेसले उसले रोजेको स्थान दिन खोजिरहेको छैन । माओबादीले कुश्मा नगरपालिका, जलजला गाउँपालिका र पैयुँ गाउँपालिकाको नेतृत्व मागेको छ । यसमा काँग्रेस दिन नसक्ने अडानमा छ । अघिल्लोचुनावमा जितेको र अहिले पनि सहज जित्ने आधार रहेको पालिका माओबादीलाई दिन काँग्रेस तयार छैन ।

काँग्रेस र माओबादीका बिचमा यहि विषयमा छलफल केन्द्रित रहेको छ । गठबन्धनमा रहेका जनता समाजवादी र एकीकृत समाजवादी भने लचिलो देखिएका छन् । काँग्रेसका कतिपय नेताहरु भने गठबन्धन गर्न नहुने पक्षमा छन् । सबै मुख्य पद अरु दललाई दिएर आफुहरु कमजोर बन्न नहुने तर्क बैठकमा राखिएको पार्टी प्रवक्ता अच्यूत तिवारीले बताउनुभयो ।

यता नेकपा माओवादी केन्द्र पर्वतका अध्यक्ष केशव कुँवरले भने गठबन्धनमा कुनै मतभेद र हठ नरहेको तथा आफूहरू सहमति नजिक पुग्न लागेको दाबी गर्नुभएको छ । गठबन्धनमा रहेका कुनै पनि दलहरूले मलाई यो स्थानीय तह चाहिन्छ नै भनेर घमन्ड नगरेको र सबैको साझा उद्देश्य गठबन्धन बाहेकका दलहरूलाई पराजित गर्नेमा नै केन्द्रित रहेको उनको भनाइ छ।

२०७४ सालमा स्थानीय तहको निर्वाचनमा ७ ओटा स्थानीय तहमध्ये ४ ओटामा नेकपा एमाले र ३ ओटामा नेपाली कांग्रेसले जीत हात पारेका थिए। फलेवास नगरपालिका, बिहादी गाउँपालिका, महाशिला गाउँपालिका र मोदी गाउँपालिकामा एमालेले जितेको थियो भने कुश्मा नगरपालिका, जलजला गाउँपालिका र पैयुँ गाउँपालिकामा कांग्रेस विजयी भएको थियो।

Back to top button