भूमिकाविहीन भएको महिला सदस्यहरुको गुनासो

दाङ – आफ्नो पाँच वर्षे कार्यकाल सकिन लाग्दा पनि आफूहरु भूमिकाविहीन भएको दाङका निर्वाचित वडा सदस्यहरुले गुनासो गरेका छन् ।

निर्वाचित जनप्रतिनिधिमध्ये प्रत्येक वडामा एक अध्यक्षसहित कम्तीमा ४ जना सदस्य छन् । त्यसमा पनि एक दलित महिला र थप एक महिला सदस्य अनिवार्य रुपमा निर्वाचित हुनुपर्ने कानुनी व्यवस्था छ । बाँकी अन्य दुई खुल्ला सदस्यमा पनि महिलाले जितेका छन् ।

२०७४ सालमा भएको पालिका चुनावमा देशभरबाट करिब २७ हजार वडा सदस्य निर्वाचित भए । यसरी निर्वाचित भएकाहरुमध्ये महिला सदस्यले भने आफूलाई भूमिकाविहीन बनाइएको गुनासो गरेका छन्।

यस्तै गुनासो छ, दाङको घोराही उपमहानरपालिका वडा नं १६ की महिला सदस्य खिमा घर्ती मगरको  । ‘हामीले बजेट माग्दा पनि नदिने, बोलेको कुरा पनि कार्यान्वयन नहुने, तर उहाँहरुले बोलेका कुराहरु हामीहरुले ताली बजाएर पास गनुपर्ने अवस्था छ’ घर्तीले भन्नुभयो ।

आफूहरुले माग गरेका योजनामा वडा तहदेखि नगरपालिकासम्म पनि सुनुवाइ नभएको उहाँको गुनासो छ । ‘वडामा पनि माग गर्छौँ,  त्यहाँ पनि हुँदैन नगरपालिकामा हुन्छ कि भनेर पठायो त्यहाँ पनि सुन्ने तर वास्ता नगर्ने चलन छ’ वडा सदस्य घर्ती मगरको गुनासो छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १२ को निर्वाचित महिला वडा सदस्य माया रावत पनि आफूले सोचे अनुसार काम गर्न नपाएको गुनासो गर्नुहुन्छ । वडामा महिलाका पक्षमा कार्यक्रम तथा योजना ल्याउँदा पुरुष सदस्यहरुबाटै यो त भइहाल्छ नि भन्ने र पुरुषले भनेका कार्यक्रम नै पास हुने गरेको गुनासो रावतको छ । रावतले भन्नुभयो— ‘भाषणमा जे-जे भनिए पनि  पुरुषको जस्तो भूमिका हामीलाई हुँदो रहेनछ ।’

दाङमा दुई उपमहानगरपालिका, एउटा नगरपालिका र सात वटा गाउँपालिका गरी १० वटा पालिकाका छन् । सबै पालिकाका प्रमुखमा पुरुष नै निर्वाचित भएका छन् भने उपप्रमुख र सदस्यहरुमा कानुनले तोके अनुसारको सङ्ख्यामा महिला सदस्य निर्वाचित भएका छन् । स्थानीय तह सञ्चालन सम्बन्धी आदेशमा कानुनले तोके बाहेक वडाको बैठकमा सहभागी हुने र तोकिए बमोजिम वा वडा अध्यक्षले लगाएको काम गर्ने भनिएको छ ।

समुदाय लक्षित कार्यक्रम सञ्चालनका लागि माग गर्दा समेत सुनुवाइ नभएको गुनासो निर्वाचित महिला सदस्यहरुको छ । तर महिलाहरु सदस्य निर्वाचित भएर आएपछि गाउँठाउँको समस्या वडादेखि पालिकातहसम्म पुर्याउने र समस्या समाधानका लागि पहल समेत हुने गरेको छ भन्नुहुन्छ दाङको पहाडी भेगमा पर्ने घोराही उपमहानगरपालिका वडा नं १९ की महिला सदस्य जानुका पुन । उहाँ भन्नुहुन्छ, ‘टोलटोलमा जाने, कार्यक्रम कार्यान्वयन गराउने दिदीबहिनी जम्मा गर्ने जस्ता काम गरेका छौँ, परिवर्तन भएको छ ।’

वडास्तरमा रहेका सदस्यहरूले आफूहरूलाई निर्णायक बैठक र छलफलमा पनि सहभागी गराउन माग गरेपछि त्यसबारे सम्बन्धित वडालाई भनिसकेको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी बताउनुहुन्छ । ‘वडा सदस्य भइसकेपछि वडा समितिको बैठक बस्ने, योजना बनाउने, कार्यान्वयनमा लाग्ने हो त्यसका लागि मैले सम्बन्धित वडालाई भनिसकेको पनि छु’ प्रमुख चौधरीले भन्नुभयो ।

धेरैै वडा सदस्यको गुनासो निर्णय प्रक्रियामा भाग लिन नपाएको भन्ने छ । तर उनीहरूलाई भूमिका दिनका लागि जनस्तरको सम्बन्ध र उनीहरूको सक्रियतालाई आधार मानेर परिचालन गर्नुपर्ने बाध्यता रहेको वडाअध्यक्षहरु बताउँछन् ।साभार उज्यालो अनलनईन

Back to top button