एसईई परीक्षा शुक्रबारबाट, ५ लाख १४ हजार परीक्षार्थी

कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ देखि सञ्चालन हुने भएको छ । शैक्षिक सत्र २०७७ र २०७६ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो ।

यसपालि बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा दुई वर्ष पहिलेको जस्तै एसईई सञ्चालन हुने बोर्डले जनाएको छ । परीक्षामा ५ लाख १४ हजार ७ सय ६० जना सहभागी हुनेछन् । प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री ७७ वटै जिल्लामा पुगिसकेको एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए । ‘केन्द्राध्यक्ष नियुक्त गरेर प्रशिक्षणको काम भइरहेको छ,’ उनले भने । परीक्षामा देशभरका ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थी सहभागी हुँदै छन् । एसईईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० विद्यार्थी पनि सहभागी हुनेछन् ।

नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रक रायमाझीले जनाए । ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थी दुई वर्षअघिका हुन् । गत दुई वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्दा ग्रेड वृद्धिको अवसर दिइएको थिएन । प्राविधिक धारमा कक्षा सञ्चालन गरिरहेका मुलुकभरका २ सय ९९ वटा विद्यालयका १४ हजार ५ सय ६४ विद्यार्थीले पनि एसईई दिँदै छन् ।

Back to top button