पर्वतमा प्रशासनले तोकेकाे मितिभित्र एक जनाले मात्रै बुझाए हतियार

पर्वत – जिल्ला प्रशासन कार्यालय पर्वतले झन्डै २० दिनको समयावधि तोकेर इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरे पनि एक जनाले मात्रै तोकिएको समयमा हतियार प्रहरीमा बुझाएका छन्।

आसन्न पालिका चुनावलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय पर्वतले गएकाे चैत ७ गते सूचना जारी गर्दै चैत २५ गतेसम्म बुझाउन अनुरोध गरे पनि पर्वतमा एक जनाले मात्रै हतियार बुझाएका हुन्।

द्वन्द्व व्यवस्थापन पछि गाउँगाउँमा रहेका अवैध हतियारलाई वैधानिकता दिन जिल्ला प्रशासन कार्यालय पर्वतले विभिन्न प्रकृतिका ७५ थान हतियारलाई कानुनी दायरामा ल्याएर दर्ता गराए पनि अहिले एक जनाले मात्रै हतियार बुझाएका हुन् ।

आउँदाे वैशाख ३० गते पालिका चुनावको मिति घोषणा भएको र चुनावलाई लक्षित गर्दै इजाजत प्राप्त गरेका हातहतियार बुझाउन आग्रह गरिएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले इजाजत प्राप्त हातहतियारहरु चुनाव सम्पन्न पश्चात् उहाँहरुलाई नै फिर्ता गर्ने गरी हातहतियार धनीहरुलाई नजिकको प्रहरी इकाईमा बुझाउन अनुरोध गरिएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले हातहतियार खरखजाना ऐन, २०१९ को दफा ८ बमोजिम जिल्लामा विभिन्न व्यक्तिहरुसंँग रहेका इजाजतपत्र प्राप्त हातहतियारहरु चैत २५ गतेभित्र स्थानीय प्रहरी कार्यालयहरुमा अनिवार्य रुपमा बुझाउन आग्रह गरेको थियो । तर जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार एक जनाले मात्रै हातहतियार बुझाएका छन् ।

प्रहरी निरीक्षक अधिकारीले हातहतियार नबुझाउने व्यक्तिहरुलाई ७ दिनको समयावधि तोकेर बुझाउन अनुरोध गर्ने तयारी गरिएको र तोकिएको मितिमा हतियार नबुझाएमा कानुन बमोजिम कारबाहीकाे प्रक्रिया अघि बढाइने बताउनुभयो ।

पर्वतमा दर्ता गराएका ७५ थान हातहतियार मध्ये दुई जना जिल्ला बाहिरका व्यक्तिहरुले पर्वतमा हातहतियार दर्ता गराएका हुन् । हातहतियार दर्ता गराएर हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान रहे पनि जिल्ला प्रशासन कार्यालय पर्वतमा नवीकरणको यथेष्ट तथ्याङ्क छैन । नवीकरण गर्दा जुनसुकै जिल्लाबाट पनि गर्न सकिने भएकाले नवीकरणको विवरण अद्यावधिक हुन नसकेको मुद्दा शाखाका कर्मचारी रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

Back to top button