पर्वतको आर्थरडाँडाखर्कमा खानेपानीको सुविधा पुगेपछि स्थानीय खुशी

पर्वत । पर्वतको कुश्मा नगरपालिका १४ आर्थरडाँडाखर्कमा खानेपानीको सुविधा विस्तार गरिएको छ । पुस्तौंदेखि खानेपानीकै लागि सास्ती भोग्दै आएको गाउँका ९६ घरमा कादुरी एग्रिकल्चरल एन्ड एसोसिएसनले घरघरै खानेपानीका धारा पु¥याइदिएको हो ।

कादुरीले खानेपानीको समस्या पुस्तौंदेखि भोग्दै आएका परिवारलाई एक घर एक धारा खानेपानी आयोजना मात्रै नभएर स्थानीय पञ्चकोसी माध्यमिक विद्यालयमा चौबीसै घण्टा खस्ने पानीका चारवटा धारा, शौचालय तथा गुरुङ समुदायको समाजघरका लागि छुट्टै चार कोठे शौचालयसमेत निर्माण गरिदिएको छ ।

घरघरै धारा, विद्यालयमा खानेपानी र शौचालयसमेत गरी कादुरीले डेढ करोड रुपैयाँका पूर्वाधार बनाएको हो । घरघरै चौबीसै घण्टा आउने पानीका धारा भएपछि अब रातभर ढुक्कले सुत्न पाइने स्थानीय विष्णुकुमारी गुरुङले बताइन् आर्थरडाँडाखर्क समाजघर निर्माण समितिका अध्यक्ष ओमकार गुरुङले पानीकै लागि कष्ट सहेर जीविकोपार्जन गर्ने युगको अन्त्य भएकोमा खुसी हुनुभएको छ ।

डाँडाखर्कको ठाँडस्वाँरा–डाँडस्वाँरा खानेपानी आयोजनाका लागि कादुरीले गाउँदेखि ९ किलोमिटर दूरीका चारवटा मूलको पानी संकलन गरेर ल्याएको हो । पानी फिल्टर गर्ने ट्यांकी, इन्ट्रप्सन ट्यांकी, डिस्ट्रिब्युसन ट्यांकी र रिजर्भवेयर ट्यांकी निर्माण गरेको छ । त्यसबाहेक विद्यालयमा फोहोर जलाउन प्रयोग गरिने इन्सिनरेटरसमेत निर्माण गर्नका लागि कादुरीले एक करोड ४४ लाख २४ हजार पाँच सय २४ रुपैयाँ ८७ पैसा लगानी गरेको कादुरीका प्राविधिक प्रमुख डा. नारायण गुरुङले बताए ।

कादुरीका निर्देशक बेलायती नागरिक पूर्वबेलायती सैनिकका कर्णेल एन्ड्र्यु मिल्सले कादुरीले कुनै हल्ला नगरी काम गर्ने बताए । कादुरीले नेपालमा बर्सेनि १ अर्ब बराबरका परियोजना निर्माण गर्दै आएको उनले बताए । कक्षा १२ सम्म पढाइ हुने पञ्चकोसी माविमा पानी अभावले विद्यार्थीको पढाइ प्रभावित हुँदै आएको थियो । यही समस्या देखेर कादुरीले विद्यालयका लागि मात्रै १० हजार लिटरको पानी संकलन ट्यांकी र धारा बनाइदिएको व्यवस्थापन समितिका अध्यक्ष रुद्रमोहन रिमालले बताए ।

Back to top button