गठबन्धन र चुनावी तालमेल लोकतन्त्रको हितमा छैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन र चुनावी तालमेल ठीक नभएको बताउनुभएको छ ।बिहीबार नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं. ८ ले नववर्ष २०७९ सालको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले गठबन्धन र चुनावी तालमेल राजनीतिक संस्कृतिका लागि हितकर नभएको बताउनुभयो ।

गठबन्धन वा चुनावी तालमेल कांग्रेस पार्टीको पनि हितमा छैन भन्ने जान्दा जान्दै पनि पार्टीको निर्णय मान्न आफू बाध्य भएको उहाँको भनाइ थियो ।

दलहरूबीच गठबन्धन हुनसक्ने भए पनि सधैं त्यसलाई संस्कृति बनाउँदा लोकतन्त्रको स्वास्थ्यलाई राम्रो नगर्ने भन्दै थापाले यस्तो संस्कृतिले कुनै पनि दललाई हीत नगर्ने बताउनुभयो । स्थानीय चुनावको तालमेलका लागि जारी गरिएको सर्कुलरको गलत बुझाइ भएको भन्दै उहाँले स्थानीय स्तरमा दलहरूबीच कुरा मिले मात्रै तालमेल हुने हो नत्र हुदैन भन्नुभयो ।

माथिबाट थोपरेको भरमा तालमेल नहुने भन्दै थापाले स्थानीय तहबाट हुने निर्णयको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।महामन्त्री थापाले कांग्रेस पार्टीभित्र बृहत्तर एकता कायम गर्नुपर्ने बताउनुभयो । निर्वाचनमा को उठ्दा जित्छ उसैलाई उठाउनुपर्ने उहाँको भनाई छ । पार्टीले उम्मेदवारको सम्बन्धमा गरेको निर्णय सबै नेता, कार्यकर्ताले मान्नुपर्ने उहाँले बताउनुभयो ।साभार ईमेज खबर

Back to top button