चुनाव निष्पक्ष र मितव्ययी बनाउनुपर्नेमा जोड

माेरङ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवेदनशील भएर पालिका चुनाव जिम्मेवारीपूर्वक सम्पन्न गराउन प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई निर्देशन दिनुभएको छ ।

निर्वाचन आयोग नेपालले आज माेरङमा आयाेजना गरेकाे स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उहाँले पालिका चुनाव निष्पक्ष, स्वतन्त्र एवम् मितव्ययी बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले पालिका चुनावका लागि आयोगले संविधान र कानुनअनुसार सबै प्रक्रिया अगाडि बढाएको बताउँदै निर्वाचन निर्देशिका एवम् स्वघोषणाले उम्मेदवारलाई जिम्मेवार बनाएको धारणा राख्नुभयो ।

उहाँले आयोगले निर्वाचन आचारसंहिता पालना भए/नभएको विषयमा संयन्त्र निर्माण गरी अनुगमन गर्ने जानकारी पनि दिनुभयो । उहाँले १० हजार दुई सय मतदानस्थलमा टेलिफोन, इन्टरनेट सुविधा पुगेको बताउनुभयो ।

प्रदेश नं १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले चुनावलाई उत्सवका रूपमा लिइ स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रशिक्षण कार्यक्रममा प्रदेश नं १ को खोटाङ, ओलखढुङ्गा र सोलुबाहेक ११ जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत गरी एक सय २० जनाको सहभागिता छ ।साभार उज्यालो अनलाईन

Back to top button