निर्माणाधिन मध्यमोदी जलविद्युत आयोजनाले असारसम्म उत्पादन दिने

पर्वत । लामो समय प्राकृतिक र मानवीय अवरोध झेल्दै आएको मध्यमोदी जलविद्युत् आयोजना निर्माणले पछिल्लो समय गति लिएको छ । केही महिनादेखि बिनारोकावट पूर्वाधार निर्माणमा जुटेको आयोजनाले यही गतिमा काम अघि बढे आगामी असारभित्रै उत्पादन हुने दाबी गरेको छ । मुआब्जा, सडकले ओगट्ने क्षेत्र, सुरुङ निर्माण लगायतमा स्थानीयको अवरोध खेपेको आयोजना पूर्वाधार निर्माण गर्न सफल भएको छ । अहिले उपकरण जडानमा जुटेको आयोजनाले जनाएको छ ।

सुरुङ निर्माण र कंक्रिटिङको काम सकिइसकेको छ । पावरहाउस निर्माण र पेनस्टक पाइप जडान अन्तिम चरणमा पुगेको छ । सबैजसो काम अन्तिम चरणमा पुगेको र मोदीमा पानीको सतह पनि घटेका कारण अहिले उपकरण जडानको काम तीव्र पारिएको आयोजनाका जनसम्पर्क अधिकारी देवीप्रसाद पौडेलले बताए । तीन वटा टावर सामुदायिक वन क्षेत्रमा पर्ने भएकाले त्यहाँका रूख कटानका लागि सम्बन्धित निकायबाट अनुमति आउनेबित्तिकै निर्माण गरिने पौडेलले बताए ।

आयोजनाको ड्याम, टनेल, पावरहाउस र टावर निर्माणका सबै काम सकिएकाले अहिले उपकरण जडानमा जोड दिइएको आयोजना प्रमुख प्रताप खरेलले जानकारी दिए । कास्की र पर्वतलाई समेटेर आयोजना बन्न लागेको हो । कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा आयोजनाको बाँध छ । पावरहाउस पर्वतको मोदी गाउँपालिका–२ केरुङ्गामा छ । आयोजनाको पर्वततर्फ मोदी–१ भुक र मोदी–२ देउपुरस्थित मख, कल्लेनी, ओख्ले, ठाना, सिमखेतलगायत प्रभावित क्षेत्र हुन् । प्रभावित क्षेत्रमा आयोजनाले विद्यालय, खानेपानी, सामुदायिक भवनलगायत पूर्वाधारका लागि समेत सहयोग गरेको छ ।

मोदी गाउँपालिकाको प्रशासकीय भवनलाई २५ र मोदी–६ तिलाहारको वडा कार्यालय भवन निर्माणमा समेत आयोजनाले १५ लाख नगद सहयोग गरेको थियो । २०७१ मंसिरमा सुरु भई २०७४ मंशिरभित्र सक्ने लक्ष्य लिइएको आयोजना प्राकृतिक र स्थानीयको अवरोधका कारण पटक–पटक रोकिँदा उत्पादनमा ढिलाइ भएको हो । २ अर्ब ८० करोडको लागत एस्टिमेटमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले आयोजनाको शिलान्यास गरेका थिए । तर विविध परिस्थितिका कारण आयोजनाको लागतसमेत बढ्ने अनुमान गरिएको छ । आयोजना निर्माणका दौरान १५.१ मेगावाटको हुने भनेर डिजाइन गरिएको थियो । तर पूर्वाधार निर्माणका क्रममा क्षमतासमेत बढेर १८ मेगावाट पुगेको छ ।

Back to top button