नेता र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आयाे : लिङ्देन

पर्सा – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेता र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले मंगलवार बीरगञ्जमा आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले बैंकमा नोट नहुनुको कारण नेताहरु र काला व्यापारीहरुले घरमा थन्क्याउनु भएको बताउनु भएको हो । नेताहरुले कमिशन र भ्रष्ट्राचारबाट कमाएको पैसा बैंकमा राख्दा आम्दानीको स्रोत खुलाउनुपर्ने भएकाले घरमै थन्क्याएका उहाँले जिकिर गर्नुभयो ।

नेताहरु र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको उहाँले बताउनुभयो । अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा जनताले राप्रपालाई मत दिएमा घर–घरमा थन्किएका नोटलाई कागजमा परिणत गरिदिने बताउनुभयो ।

उहाँले भन्नुभयो –‘देशलाई अर्थतन्त्रको हिसाबले कहाँ पुर्‍याए, बैंकमा पैसा छैन आज । यो खतरनाक कुरा हो । सामान्य कुरा होइन । बैंकमा नोट नहुने कुरा के हो ? कहाँ गयो त नोट ? नोट त छापिएको थियो नि त । त्यो त भारतमा गएर कहीँ बसेको छैन । कतै गएर अड्किएको छैन । त्यो नोट कहाँ गयो ? नोट कहाँ गयो ? नेताहरुको घरमा । कमिशनको नाममा । भ्रष्ट्राचारको नाममा विभिन्न हिसाबले गरेर कमाएको पैसा बैंकमा लगेर राख्दा त आम्दानीको स्रोत देखाउनु पर्‍याे । यहाँबाट कमाएको, जग्गा बेचेर ल्याएको, अथवा व्यापार गरेर कमाएको, ट्याक्स तिरेको प्रमाण हुनुपर्‍याे । नभएपछि बोरामा राख्नुपर्‍याे । बाकसमा राख्नुपर्‍याे । आज नेताहरुको र काला व्यापारीहरुको घरमा नोट थन्किएको कारणले आज देशमा आर्थिक संकट आएको छ । एकचोटी राप्रपालाई सहयोग गर्नुस् त, राजेन्द्र लिङ्देन जस्तो मान्छेहरुलाई र त्यो पार्टीलाई सहयोग गर्नुस् त । यिनीहरुको नोट घर–घरमै कागजको खोस्टो बनाइदिन्छौ हामी । एकचोटी सहयोग गर्नुस् । हाम्रो मनमा छ । गर्न सकिन्छ भन्ने छ ।’

अध्यक्ष लिङ्देनले आफ्नै जीवनकालमा देश बनेको हेर्नका लागि मतदाताहरुले पार्टी र नेता फेर्ने बेला आएको बताउनुभयो । उहाँले कांग्रेस, एमाले, माओवादी र मधेशवादी दललाई मत दिएर देश बन्नु भनेको दुधका लागि साँढेको टाङमुनि बाल्टि थाप्नुजस्तै भएको टिप्पणी  समेत गर्नुभयो । उहाँले उहाँले देशका ठूला राजनीतिक पार्टीहरुले देशलाई बर्बादीको बिन्दुमा पुर्‍याएको आरोप पनि लगाउनुभयो ।साभार उज्यालो अनलाईन

Back to top button