काठमाडौंको खाली जग्गा भूमाफियाहरुको कब्जामा छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको खाली जग्गा भूमाफियाहरुको कब्जामा रहेको बताउनुभएको छ ।मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

उहाँले काठमाडौंका खाली ठाउँहरुमा भूमाफियाहरुले आफ्नो नाममा लिने काम भइरहेको भन्दै यसमा सचेत भएर काम गर्नुपर्ने बताउनुभयो । यसलाई नियन्त्रण गर्न नसके भविष्यमा काठमाडौंमा खाली ठाउँ नहुने समेत ठोकुवा गर्नुभयो । प्रधानमन्त्री देउवाले भूमाफियाहरूले काठमाडौंका ठाउँठाउँमा जथाभावी जग्गा हडप्दै गएकाले कडाइ गरिनुपर्ने बताउनुभयो ।

उहाँले सहरी विकास र गृह मन्त्रालयसहित सबै मिलेर काठमाडौंका खाली ठाउँहरूलाई जोगाउन ध्यान दिनुपर्ने बताउनुभयो ।प्रधानमन्त्री देउवाले काठमाडौंमा फोहोरको समस्या जटिल बन्दै गएको भन्दै फोहोरबाट विद्युत र ग्याँस निकालेर व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले फोहोर व्यवस्थापन हुन नसक्दा सरकार नै लाजमर्दो भइरहको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले अहिले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितालाई ध्यान दिएर मात्रै काम गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।साभार ईमेज खबर

Back to top button