एनआरएनएका प्रत्येक सदस्यले कम्तीमा एक हजार डलर नेपाल पठाउने तयारी

काठमाण्डौ – विदेशी मुद्राको सञ्चिती घटेर देशमा देखिएको आर्थिक सङ्कटलाई मध्यनजर गर्दै गैर आवासीय नेपालीहरू नेपालका बैङ्कहरूमा डलर खाता खोली प्रत्येकले एक हजार डलर पठाउने तयारीमा जटेका छन् ।

भोलि अर्थमन्त्री, गभर्नर र अर्थविदहरुसहितको उपस्थितिमा जुममा एक अन्तर्क्रिया कार्यक्रम गरी विदेशमा रहेका सबै गैर आवासीय नेपालीलाई नेपालका कुनै पनि बैङ्कमा  डलर खाता खोल्न अनुरोध गरी कम्तीमा एक हजार डलर पठाउन अनुरोध गर्ने तयारी रहेको गैर आवासीय नेपाली सङ्घ(एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ ।

देशमा विदेशी मुद्राको कमीलाई समाधान गर्न हिजो सोमबार गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्ले आकस्मिक बैठकमार्फत यस्तो निर्णय गरेको हो ।

विदेशबाट अनलाइनमार्फत डलर एकाउन्ट खोल्दा आइपर्ने प्राविधिक समस्या, डलर सिधा पठाउँदा, नेपालमा डलर एकाउन्ट खोलेर बचत गर्दा र आवश्यक परेको बेलामा रकम फिर्ता लग्दा देखिने समस्या समाधान कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्ने र निष्कर्ष सरकार समक्ष राख्ने एनआरएनएको तयारी छ ।

कोषाध्यक्षहरूको नेतृत्वमा सबै सह कोषाध्यक्ष रहने गरी डलर एकाउन्ट खोल्नको लागि चाहिने कागजी प्रक्रिया र आर्थिक पक्षको अध्ययन गरी सबै गैर आवासीय नेपालीलाई जानकारी गराउने र एकाउन्ट खोल्न सहजीकरण गर्ने एनआरएनएले जनाएको छ ।साभार उज्यालो अनलाईन

Back to top button