यस वर्षको पहिलो हिमाल आरोहण धौलागिरिमा, २२ जना आरोही शिखरमा पुगे

काठमाण्डाै – यस वर्षको पहिलो हिमाल आरोहण धौलागिरिमा भएको छ । आठ हजार एक सय ६७ मिटर अग्लो हिमालको सफलतापूर्वक आरोहण गरेर सन् २०२२ को आरोहण सुरु भएको पर्यटन विभाग अन्तर्गत पर्वतारोहण शाखाका प्रमुख सूर्यप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

अहिलेसम्म १० जना आरोही र १२ जना आरोहण सहयोगी गरी २२ जना शिखरमा पुगेका विभागबाट खटाइएका सम्पर्क अधिकृत नगेन्द्र रोकाले जानकारी दिनुभयो । यस वर्ष धौलागिरि हिमाल आरोहणका लागि दुई समूहबाट २१ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार यो वसन्त ऋतुको मौसममा १८ वटा हिमाल आरोहणका लागि ६१ वटा समूहबाट पाँच सय पाँच जनाले अनुमति लिएका छन् । सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि दुई सय चार जनाले अनुमति लिएका छन् । विभागले आरोहण रोयल्टी शुल्कबापत २९ करोड ७४ लाख ३४ हजार आठ सय एक रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

अनमुति लिएकामध्ये धेरैजसो आरोहीहरू हिमालका आधार शिविरतर्फ गइसकेका छन् । पर्वतीय पर्यटकहरूको आगमनसँगै कोरोना महामारीले शिथिल बनेको नेपालकाे पर्यटन व्यवसाय लयमा फर्कन थालेको व्यवसायीहरूले बताएका छन् । साभार उज्यालो अनलाईन

तस्बिर : सेभेन समिट ट्रिक्स प्राली

Back to top button