वडामा उठ्ने उम्मेदवार वडामै छिनोफानो गर्न काँग्रेस पर्वतको निर्देशन

पर्वत । बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि वडाध्यक्ष र सदस्य सहितको उम्मेदवार वडामै टुंगाएर आउन नेपाली काँग्रेस पर्वतले आग्रह गरेको छ । जिल्लामा आउँदा उम्मेदवार छनौटमा झमेला हुने र स्थानीयले खोजेको उम्मेदवार पनि पछि पर्न सक्ने भएकाले वडामै टुंगाउन जिल्ला समितिले निर्देशन दिएको हो । पार्टी सभापति यूवराज जोशीले वडामा बसेर अधिकतम छलफल गर्ने र मिल्नै नसक्ने अवस्था भएमा प्रत्येक पदका बढिमा तीन जनाको मात्रै नाम बनाएर पठाउन आग्रह गरिएको बताउनुभयो ।

स्थानीय स्तरमै छलफल गरेर उम्मेदवार तय गर्दा स्थानीयको अपनत्व महसुस हुने र कलष्टरका आधारमा चुन्न पनि आग्रह गरिएको जोशीले बताउनुभयो । उम्मेदवार छान्न ढिलो गर्न नहुने पनि उहाँले बताउनुभएको छ । यसैबिच पर्वतका अधिकाँश वडामा वडाका जनप्रतिनिधीका उम्मेदवार छान्न भेलाहरु भैरहेका छन् । आकांक्षी धेरै भएको हुनाले अधिकाँशले जिल्ला र प्रदेशमा उम्मेदवारको नाम छनौट गरेर पठाउन सकिरहेका छैनन । पाँच दलिय गठबन्धनको विषय निष्कर्षमा नपुगेको हुनाले पनि कतिपय वडामा खुल्ला छलफल हुन नसकेको पालिका सभापतिहरुले बताएका छन् ।

फलेवासमा नगर स्तरिय र वडा स्तरीय गठबन्धन दलको सयन्त्र गठन गर्ने निर्णय गरिएको छ । बैशाख ३० गतेको निर्वाचनमा साझा उम्मेदवार छान्ने र आफ्नो उम्मेदवारलाई विजयी बनाउन सबै दलहरुले आफ्नो आफ्नो स्थानबाट सहयोग गर्ने निर्णय सहित संयन्त्र गठन गरेको छ । काँग्रेसका सभापति हिरामणी सापकोटाको सभापतित्वमा भएको बैठकमा नेकपा माओबादीका शोभा क्षेत्री, नेकपा एकिकृत समाजबादीका नगर अध्यक्ष कृष्ण प्रसाद लम्साल सहितको बैठकले सबै ११ वटा वडामा संयन्त्र गठन गरि उम्मेदवार चयनमा कसरत गर्ने निर्णय गरेको हो ।

कुश्मा नगरपालिकाका सभापति किशोर भण्डारीले कुश्मा नगरपालिकाका १४ वटै वडामा काँग्रेसको भेला गरेर उम्मेदवार छनौटको कसरत भैरहेको बताउनुभयो । तर कुश्मा नगरपालिका भित्र कटुवाचौपारी, पाङ, खुर्कोट, कुश्माबजारका ३ वडा, पकुवा, ठूलीपोखरीबाट धेरै आकांक्षी देखिएका छन् । जलजला गाउँपालिकामा पनि उम्मेदवार छनौटका लागि भेला भएपनि आकांक्षी व्यवस्थापन गर्न सकस परेको छ ।

Back to top button