मृगौलापीडितलाई सरकारले दिने उपचार खर्च पालिकाबाटै पाउने

काठमाडौं । मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरूलाई सरकारले दिने भनिएको उपचार खर्च व्यक्तिले आफ्नै पालिकाबाट पाउने भएका छन् ।सरकारले गत चैत १३ गते मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइराख्नु परेका, क्यान्सर समस्या भएका र मेरुदण्डको पक्षघात भएका व्यक्तिहरूलाई मासिक पाँच हजार रुपैयाँको दरले उपचार खर्च दिने निर्णय गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समिरकुमार अधिकारीले सरकारले स्वीकृत गरेको कार्यविधि अनुुसार सो रोगका व्यक्तिहरूको लगत सम्बन्धित वडामा हुने र सम्बन्धित पालिकामार्फत् नै व्यक्तिगत खातामा रकम जम्मा हुने व्यवस्था रहेको जानकारी दिनुभयो ।सम्बन्धित पालिकाले सेवाग्राहीको खाता नम्बरमा हरेक तीन/तीन महिनामा मासिक पाँच हजारको दरले रकम जम्मा गरिदिने उहाँले बताउनुभयो ।

उपचार खर्च बापतको रकम पहिले नै पेन्सन पाइराखेकाहरूले नपाउने तर जेष्ठ नागरिक तथा एकल महिलाले भने भत्ता पाइरहेको भए पनि पाउने उहाँले स्पष्ट पार्नुभयो ।सरकारले स्रोतको सुनिश्चितता गरिसकेकाले सेवाग्राहीले रकम निरन्तर पाउने पनि उहाँले उल्लेख गर्नुभयो ।साभार ईमेज खबर

Back to top button