कुश्मामा सेभेन ए साईड फुटवल प्रतियोगिता शुरु, मेयर जोशीद्धारा उद्घाटन

पर्वत । पर्वतको कुश्मामा सेभेन ए साईड फुटवल प्रतियोगिता शुरु भएको छ । कुश्मा स्पोर्टस क्लवको आयोजनामा कुश्माको बडगाउँ खेलकुद मैदानमा प्रतियोगिता शुरु भएको हो । खेलकुद प्रतियोगिता शुरु हुनुभन्दा अगाडी कुश्मामा लाखेनाच, बाजागाजा र रयाली प्रदर्शन गरिएको थियो ।

फुटवल प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका २५ टिमबिच प्रतिस्पर्धा हुने भएको छ । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले कार्यक्रमको उद्घाटन गर्नुभयो । उहाँले खेलकुदले जिल्लाको पहिचान बढ्ने र राम्रा खेलाडीको उत्पादन हुने बताउनुभयो । नगरप्रमुख जोशीले कुश्मामा खेल गतिविधिहरुको विकास गर्न र पर्यटन जस्तै खेल लाई पनि विकास गर्न नगरपालिका र सरोकारवाला निकाय बिच समझदारी हुनुपर्ने जोशीले बताउनुभयो ।

आयोजकले प्रमुख अतिथी नगरप्रमुख जोशीलाई १० किलोको माला लगाएर भव्य स्वागत गरेका थिए । सम्मानले खेलाडीहरु प्रति अझै जिम्मेवार भएर काम गर्ने प्रेरणा प्राप्त भएको जोशीले बताउनुभयो । कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, नेकपा एमालेका जिल्ला सचिव गोबिन्द पहाडी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङ र नेपाल पत्रकार महासंघका अध्यक्ष सन्तोष थापाले बोलेका थिए । कुश्मा स्पोर्टस क्लवका अध्यक्ष विकास श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार कृष्ण अखेलीले गर्नुभएको थियो ।

Back to top button