उदयपुरमा ट्युशन पढ्न गएकी बालिका मृत भेटिइन्

उदयपुर – उदयपुरको बेलका नगरपालिका ३ बुद्धचौक घर भएकी एक बालिका मृत भेटिएकी छिन् । आज मङ्गलवार बिहान झन्डै ४ बजेकाे समयमा घरबाट ट्युशन पढ्न निस्किएकी १५ वर्षीया बालिका कविता सुनवार मृत भेटिएकी प्रहरीले जनाएको छ ।

आज बिहान झन्डै ७ बजेतिर बालिकाको शव स्थानीयवासीले जशोधा खोलाकाे किनारमा देखेपछि इलाका प्रहरी कार्यालय रामपुरलाई जानकारी गराएका हुन् । शवको प्रकृति हेर्दा हत्या भएको देखिए पनि प्रहरीले यसको पुष्टि गरिसकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका एसपी सुवासचन्द्र बोहोराले अनुसन्धानका क्रममा कर्तव्य गरी हत्या भएको जस्तो देखिए पनि अहिले नै यकिन गर्न नसकिने बताउनुभयो । उहाँका अनुसार अनुसन्धानका लागि केन्द्र र प्रदेश प्रहरीसँग समन्वय भइसकेकाले अनुसन्धानपछि मात्र घटना कसरी घट्यो भनेर यकिन हुने बताउनुभयो ।

कोशी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बालिका माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाको तयारीका लागि ट्युशन पढ्न बिहानै जाने गरेको स्थानीयवासी सुमन सागर खतिवडाले बताउनुभयो । खतिवडाका अनुसार घटना विद्यालयदेखि झन्डै सात सय मिटर र घरबाट झन्डै दुई किलोमिटर पर घटेकाे हाे ।

घटनाको प्रमाण नष्ट हुन नदिन घटनास्थल क्षेत्रलाई घेरामा राखिएको छ । अनुसन्धानका लागि विशेषज्ञसहितको टोली झिकाइ सकेकोले चाँडै निष्कर्षमा पुग्ने एसपी बोहोराले बताउनुभयो । साभार उज्यालो अनलाईन

Back to top button