भ्यु टावरमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्छ : काेइराला

तनहुँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपालमा विकासमा अनावश्यक खर्च गरिएको बताउनुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिका २ को सिमलटार खानेपानी आयोजनाको आज आइतवार उद्घाटन गर्दै डा. कोइरालाले देशका विभिन्न ठाउँमा दृश्यावलोकन स्तम्भ (भ्यु टावर) बनाउने नाममा अनावश्यक खर्च गरिएको भन्दै त्यसमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्नेमा जोड दिनुभयो ।

‘विकासका लागि पैसा छैन भन्छौँ, भ्यु टावरमा अनावश्यक खर्च गरिरहेका छौँ, मधेसमा जानुभयो सडक सडकमा गेट बनाइराखेका छन्’, उहाँले भन्नुभयो, ‘यस्तो काम रोकिनुपर्छ ।’ कांग्रेसका नेता तथा कार्यकर्ताले घोषणापत्र बनाउँदा भ्यु टावर बनाउँदैनौँ भनेर प्रतिज्ञा गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘चुनाव आउँदैछ, भ्यु टावर बनाउँदा लाग्ने खर्च अस्पताल, विद्यालयमा लगानी गर्छौँ भनेर प्रतिबद्धता गर्नुस्, त्यसो गरेको खण्डमा नेपाली कांग्रेसका लागि फाइदा हुन्छ ।’

डा. कोइरालाले तनहुँ सुगम भए पनि मानिस अझै पनि डोकामा पानी लिन जानुपर्ने अवस्था विडम्बना रहेको बताउनुभयो ।

डा. कोइरालाले स्थानीय तहको चुनावमा गठबन्धन गरेर जाने सहमति भएको भन्दै कसरी गठबन्धन भन्ने विषय प्रस्ट नभएको बताउनुभयो ।
केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेसको नेतृत्वमा जिल्लामा विकास निर्माणको कामले गति लिएको बताउनुभयो । बन्दीपुरमा खानेपानी, सडकलगायतका योजनामा कांग्रेसको पहल रहेको जनाउँदै उहाँले विकास गर्ने पार्टी भनेको कांग्रेस रहेको जिकिर गर्नुभयो ।

खानेपानीको अभाव रहेको यस क्षेत्रका स्थानीयवासीलाई सहज बनाउन लिफ्टिङ खानेपानी आयोजना निर्माण गरिएको हो । एक करोड ५१ लाख रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको अध्यक्ष रोजन बानियाँले जानकारी दिनुभयो । यस आयोजनाबाट दुई सय २५ घरधुरी लाभान्वित भएका छन् । खानेपानी योजनाबाट सिमलटार, धारापानी, चामुण्डाथान र थुम्कीका स्थानीयवासीका घरघरमा धारा जडान गरिएको छ । साभार उज्यालो अनलाईन

Back to top button