चीनमा एकै दिन कोरोना पुष्टि हुनेको संख्या अहिलेसम्मकै धेरै, १३ हजार भन्दा बढी सङ्क्रमित

काठमाण्डाै – चीनमा एकै दिन १३ हजार भन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा लक्षण भएका एक हजार चार सय ५५ जना र लक्षण नभएका ११ हजार ६ सय ९१ जना गरी १३ हजार एक सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको त्यहाँकाे स्वास्थ्य विभागलाई उदृत गर्दै चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

दैनिक विवरण अनुसार यो सङ्ख्या चिनमा एकै दिन पुष्टि भएको अहिलेसम्मकै धेरै रहेको पनि चिनियाँ स्वास्थ्य विभागले जनाएको छ । सबैभन्दा धेरै साङ्घाईमा कोरोना फैलिएको छ भने अरु दर्जन बढी प्रान्तमा कोरोना फैलिएको छ । कोरोना फैलिएको क्षेत्रमा कडा प्रतिबन्धहरु लगाउनुको साथै परिक्षणलाई तिब्रता दिइएको छ ।

पछिल्लो २४ घण्टामा चिनमा कोरोना सङ्क्रमणको कारण कसैको पनि ज्यान गएको छैन । अस्पतालहरुमा सङ्क्रमितको चाप भने धेरै बढेको छ । चीनमा अहिलेसम्म एक लाख ५४ हजार सात सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोमा चार हजार ६ सय ३८ जनाको ज्यान गएको छ ।

अहिले चिनमा २६ हजार एक सय ६७ जना सक्रिय सङ्क्रमित रहेका छन् । चिनमा ८८ प्रतिशत मानिसले कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका छन् । साभार उज्यालो अनलाईन

Back to top button