प्रि मनसुनका गतिविधि ढिलो गरी सक्रिय, आज काठमाण्डौसहित पहाडी भेगमा वर्षाकाे सम्भावना

काठमाण्डाै – आज काठमाण्डौ उपत्यकासहित देशका केही पहाडी क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान गरिएको छ ।केही दिन यता प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा वर्षा भइरहेको छ । तर, काठमाण्डौ उपत्यकामा भने पानी परेको थिएन । आज भने दिउँसोपछि काठमाण्डौ उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो । केही दिन यता वाग्मती प्रदेशका चितवन, सिन्धुली र सिन्धुपाल्चोकमा, गण्डकी प्रदेशको कास्कीमा र प्रदेश १ को संखुवासभा र भोजपुरमा पानी परिरहेको छ ।

अहिले देशभर भारतको बिहारदेखि बंगालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव परेको छ । यसकै कारण देशका धेरै ठाउँको मौसम सामान्य बद्ली भएको छ । यसपालि ढिलो गरी प्रि मनसुनका गतिविधि सक्रिय हुँदा पानी पर्न नसकेको मौसमविद् प्रधानांगले बताउनुभयो । प्रि मनसुनको एक महिना खासै पानी नपरी बितेको छ ।

मार्च, अप्रिल र मे महिनालाई प्रि मनसुनको अवधि मानिन्छ । प्रि मनसुनकाे पहिलाे महिना सक्किएर दाेस्राे महिना सुरु भइसकेकाे छ । प्रि मनसुनमा पानी पार्न स्थानीय वायुको भूमिका महत्वपूर्ण हुन्छ । यसपालि स्थानीय वायुमा पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा विकसित नहुँदा पानी पर्न नसकेको मौसमविद्को भनाइ छ । तर, पानी नपर्नुमा यो मात्रै एक कारण नभएको मौसमविद् राजु प्रधानांगले बताउनुभयो ।

उहाँकाअनुसार अब प्रि मनसुनका गतिविधि सक्रिय हुन थालेकाले मेघगर्जन र चट्याङसहित केही ठाउँमा पानी पर्ने सम्भावना छ । भोलि पनि प्रदेश १, गण्डकी र वाग्मती प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यमखालको वर्षाको अनुमान गरिएको मौसमविद्ले बताएका छन् । साभार उज्यालो अनलाईन

Back to top button