बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको समय तालिका हटाइयाे

म्याग्दी – बेनी-जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको समय तालिका ‘टाइमकार्ड’ हटाइएको छ । म्याग्दीको बेनीबाट मुस्ताङको लेतेसम्म विभिन्न ठाउँमा गएको माघ १० गतेदेखि दैनिक छ घण्टा गाडीको आवतजावत रोकेर सडक स्तरोन्नतिको काम हुँदै आएको थियो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले चैते दसैँसम्मका लागि सडकमा यातायात बन्द नगरिने जानकारी दिनुभयो । मुस्ताङमा तीर्थयात्री र पर्यटकको चाप बढेपछि स्थानीय प्रशासनको अनुरोधमा चैते दसैँसम्मका लागि समय तालिका हटाएको  र सवारी आवतजावत प्रभावित नहुनेगरी सडक निर्माणलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।

म्याग्दीको महभिर, नौनीबगर र मुस्ताङको सीमाना काभ्रेभिर खण्डमा सडक निर्माण भइरहेको छ । मुस्ताङमा केही दिनयता दैनिक तीन हजार जनाको हाराहारीमा तीर्थयात्री र पर्यटक पुग्ने गरेका छन् ।  २०७४ मा सुरु भएको चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने दुईसय किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ खण्डमा निर्माण भइरहेको छ ।साभार उज्यालो अनलाईन

Back to top button