गैर आवासीय नेपाली संघका अध्यक्ष त्रयलाई एकतावद्ध हुन प्रधानमन्त्री देउवाको सुझाव

काठमाडौ । गैर आवासीय नेपाली संघ, एनआरएनएका नवनिर्वाचित अध्यक्ष त्रयलगायतका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।नवनिर्वाचित अध्यक्षत्रय कुल आचार्य, डा. बद्री केसी र रबिना थापा, निवर्तमान अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष भवन भट्ट लगायत नवनिर्वाचित पदाधिकारीले नेपाली कांग्रेसको सानेपास्थित कार्यालयमा कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवासँग भेटघाट गर्नुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले एनआरएनलाई मिलेर अगाडि बढ्न सुझाव दिनुभयो । एनआरएन नेपालका अवैतनिक राजदूत हुन् भन्दै उहाँले विदेशी लगानी भित्र्याउन आग्रह गर्नुभयो ।कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एनआरएनहरुले उठाउँदै आएको दोहोरो नागरिकता, मतदानको अधिकार लगायतका विषयमा पार्टी सकारात्मक रहेको बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष कुल आचार्यले संघको तर्फबाट ज्ञापनपत्र बुझाउँदै गैर आवासीय नेपाली नागरिकता संसदबाट छिट्टै पारित गर्न, पशुपति क्षेत्रमा एक सय कोठाको आधुनिक सुविधायुक्त एक बृद्धाश्रम बनाउन जग्गा उपलब्ध गराई दिन माग गर्नुभयो ।

वैदेशिक रोजगारी रहेका नेपालीका लागि सामाजिक सुरक्षा कार्यान्वयन तथा कम्तीमा १० अर्बको एनआरएन नेपाल विकास कोषको कार्यान्वयनमा देखिएका बाधा ज्ञापन पत्रमा भनिएको छ ।उनीहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि छुट्टै भेट गरी दशौँ विश्व सम्मेलनको छलफलबाट निस्केको निचोड सहित ज्ञापनपत्र बुझाएका छन् ।

नेकपा माओवादी अध्यक्ष दाहालले भेटमा तीन अध्यक्ष रहेको संघको कार्यसमितिलाई नै सरकारले मान्यता दिने भन्दै अहिलेको अवस्थामा गैर आवासीय नेपालीलाई एकतावद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो ।साभार उज्यालो अनलाईन

Back to top button