पर्वतमा कृषि गणनाको तयारी, १ सय १ स्थानबाट गणनाको काम हुने

पर्वत । केन्द्रीय तथ्याङ्क विभागले देशभर कृषि गणना गर्न थालेकोमा पर्वतमा पनि गणनाको तयारी भैरहेको छ । कृषि गणना कार्यालयले आज सरोकारवालाहरुको बिचमा अन्तरक्रियात्मक कार्यक्रम गरि गणनाको तयारी भैरहेको जानकारी दिएको छ । पर्वतका जिल्ला कृषि गणना अधिकृत सुरेन्द्रराज पौडेलले १ सय १ क्षेत्रबाट पर्वतमा गणनाको काम शुरु हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार मोदी गाउँपालिकाको १५, जलजला गाउँपालिकाको १३, फलेवास नगरपालिकाको १६, महाशिला गाउँपालिकाको १२, विहादी गाउँपालिकाको १४, पैयुँ गाउँपालिकाको १४ र कुश्मा नगरपालिकाको १७ वटा ठाउँबाट कृषि गणना गर्ने गरि क्षेत्र निर्धारण भएको हो । देशभरीको कृषिको अवस्था, लगानीको अवस्था, कृषिमा सिँचाइको अवस्थाबारे थाहा पाउन, उमेर र जात अनुसारका पशुपक्षीबारे थाहा पाउन, कृषिमा भइरहेको यान्त्रिकीकरण र आधुनिकीकरणको अवस्थाबारे थाहा पाउन, कृषि ऋण बिमा र अनुदानको अवस्था थाहा पाउनका लागि गणना गरिने भएको छ । दिगो विकासका सूचक पूरा गर्न स्थानीय तह, जिल्ला, प्रदेश र राष्ट्रियस्तरका योजना तर्जुमा, नीति निर्माण, अनुगमन र मूल्याङ्कनका लागि यसले नै आधार तयार गर्ने पौडेलले बताउनुभयो ।

मुख्य कृषक तथा मुख्य उत्पादन, कृषि चलनको मुख्य उत्पादन, उत्पादनको मुख्य उपयोग, कृषि चलनको आर्थिक क्रियाकलाप, कृषि चलनको पारिवारिक विवरण (नाम, लिङ्ग, उमेर, शैक्षिक स्थिति, मुख्य पेशा, कृषि तालिम, कृषि कार्यसम्बन्धी निर्णयमा सहभागिता, कृषिका लागि दिइएको समय), संलग्न कामदारको सङ्ख्या, महिलाको नाममा हरेको कृषि जग्गा र क्षेत्रफल, सिँचाइको स्रोतको बारेमा गणनाको क्रममा तथ्याङ्क लिइनेछ । जनगणनाको तुलनामा कृषि गणना प्राविधिक हुने भएकाले सुपरीवेक्षक र गणकले पनि यसमा विशेष ध्यान दिनुपर्ने पौडेलको भनाइ छ ।

Back to top button